News राजनीति

कोईराला पक्षको निस्कर्षः अव देउवासँग ४० प्रतिशत हिस्सेदारी माग्नुपर्छ

कोईराला पक्षको निस्कर्षः अव देउवासँग ४० प्रतिशत हिस्सेदारी माग्नुपर्छ

नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला समूह पार्टीमा न्यायोचित व्यवहार नभएको महसुस गरी अव ४० प्रतिशत हिस्सेदारी माग्नुपर्ने निस्कर्षमा पुगेको छ। 

कोईराला समूहको शनिबार काठमाडौंमा भएको भेलापछि नेता गुरुराज घिमिरेले अब पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको बताए । 

केही केन्द्रीय सदस्यहरू र युवा नेताहरू सहभागी भएको भेलामा डा. कोइराला भने सहभागी थिएनन् । उनीहरुले पार्टीमा न्यायोचित व्यवहार हुनुपर्ने निष्कर्ष निकालेका छन् । 

‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि सभापतिले समेट्नुभएको छैन, राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न, समेट्दा पनि समेट्नुहुन्न’ नेता घिमिरेले भनेका छन्–‘यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले समेट्नुहुन्न ।’

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका मुख्य भ्रातृ संस्थाको अध्यक्ष मनोनयन गर्दा देउवाले पार्टीभित्र कुनै परामर्श नै नगरेकोमा कोईराला पक्ष रुष्ट छ। भ्रातृ संस्था गठन र पूर्णता दिने विषयमा परामर्श र सहमति गर्न माग गरेपनि संस्थापन पक्ष एक्लै अगाडि बढेको नेताहरुले वताएका छन् ।

देउवाले नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र राउत, नेपाल किसान संघमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरिसकेका छन् ।

मनोनयन भएका सबै भ्रातृ संस्थाका अध्यक्षहरु संस्थापन पक्षका हुन् । 
 

विशेष