News अपराध सुरक्षा

बहिनीसँग प्रेम गरेको भन्दै फिल्मी शैलीमा युवकको हत्या

बहिनीसँग प्रेम गरेको भन्दै फिल्मी शैलीमा युवकको हत्या

बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका १४ वर्षीय राजकुमार ठाकुरको प्रेम सम्वन्धका कारण फिल्मी शैलीमा हत्या भएको छ। आफ्नी वहिनीसँग प्रेम गरेको भन्दै छिमेकी ३० वर्षीय प्रितम पटेल र उनका भाइ उत्तरले साउन २४ गते उनको हत्या गरेर शव इण्डिया पुर्याएको खुलेको छ।

वीरगञ्ज १६ नगवामा ट्युसन पढ्न गएका ठाकुर घर नफर्किएपछि खोजी गर्ने क्रममा भारतको रक्सौल हुँदै मुजफ्फरपुर चल्ने रेलको शौचालयमा उनको शव भेटिएको छ। राजकुमारका बुबा मोतिलालले छोरो हराएको भन्दै सुचना दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। सोही क्रममा साउन २७ गते भारतीय प्रहरीले बिहारको भागलपुरमा एउटा शव फेला परेको जानकारी दिएपछि भेटिएको शव हेर्न प्रहरीले मोतीलाललाई लिएर गयो। 

मोतिलालले शव आफनो छोराकै भएको पुष्टि गरे। उनलाई आफनो छोराको हत्यामा छिमेकीकै संलग्नता रहेको आशंका भएपछि प्रहरीमा किटानी जाहेरी दिए । सोही जाहेरीका आधारमा प्रहरीले  छिमेकी प्रितम र उत्तर पटेललाई पक्राउ गर्यो। तर, उनीहरुले संलग्नता स्विकार गरेनन्।

प्रहरीले नगवा बाइपास चोकभन्दा करिब ५ सय मिटर अगाडि रहेको सीसी क्यामेरा फुटेजमा शव वोकेर जाँदै गरेका पटेल दाजुभाइलाई देख्यो। त्यसपछि भने उनीहरुले हत्या स्विकार गरेका छन् । प्रहरीका अनुसार कक्षा ९ मा पढ्ने राजकुमार र पटेल दाजुभाइकी बहिनी एउटै विद्यालय श्री नेरा माध्यमिक विद्यालय इटियाहीमा पढ्थे।

राजकुमार र ती किशोरीको एकअर्कासँग प्रेम सम्वन्ध रहेको जानकारी पाएपछि पटेल दाजुभाइले पहिले पनि एकपटक राजकुमारलाई बोलाएर कुटपिट गरेका थिए। त्यो प्रकरणपछि दुई परिवारबीच झगडा पनि भयो। तर राजकुमार र किशोरीको सम्वन्धमा कमी नआएपछि पटेल दाजुभाइले साउन २४ गते राजकुमारलाई नगवा बाइपासमा रहेको आफ्नो टेलरमा बोलाएको प्रहरीले जानकारी पाएको छ। 

उनीहरुले पसलभित्र सटर बन्द गरी मुख थुनेर राजकुमारको हत्या गरेको पाईएको छ। त्यसपछि शवलाई बोरामा पोको पारेर बोलबम कलरको टिसर्ट लगाई मोटरसाइकलमा हालेर भारत पुर्याएएको उनीहरुले खोलेका छन् ।

भारत पुर्यापछि मालवाहक रेलको डिब्बामा शव राखी राजकुमारको फोन स्वीच अफ गरेर वीरगञ्ज भन्सारनजिकको एक आँखा अस्पतालनजिक फालेको पाईएको छ। मृतकले बोकेको स्कुल ब्याग भने सिर्सिया नदी र साइकल महाराजगञ्जको एक गल्लीमा फालेर घर उनीहरु घर फर्किएको पाईएको छ ।

उनीहरुले हत्या गरेको स्वीकार गरेका छन्। अपहरण, शरीर बन्धक तथा हत्याको आरोपमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी प्रह्लाद कार्कीले जानकारी दिए ।
 

हत्या

विशेष