News

फोहोर ब्यवस्थापनमा सत्ताले नै अवरोध गर्यो, राज्य संरचना निरीह भएः बालेन्द्र

फोहोर ब्यवस्थापनमा सत्ताले नै अवरोध गर्यो, राज्य संरचना निरीह भएः बालेन्द्र

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सत्ता पक्षकै दलका नेताहरुको अवरोधका कारण फोहोर ब्यवस्थापन सहज नभएको आरोप लगाएका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् ।

सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका उनले बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा असन्तुष्टि जनाएका छन् ।

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो। जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो’ उनले लेखेका छन्–‘यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।’

फोहोर ब्यवस्थापनमा देखिएको अहिलेको अवरोध प्रमुख नभएको र त्यसका भित्री पाट अझै गरिरो र कारणहरु पनि अलग्गै रहेको उनको दावी छ। ‘केहिदिन र केहि समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ?’ उनले भनेका छन्–‘२०० भन्दा बढि प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’
 
उनले फेसवुककै माद्यमबाट स्थानीयलाई विस्वासमा लिने प्रयत्न समेत गरेका छन् । ‘यहाँ केहि कमजोरी, केहि गल्ति भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ’ उनले लेखेका छन्–‘यसका लागि केहि समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’

उनले आफना कुत्सित स्वार्थ कसैले राखेको भए त्यो स्वार्थ महानगरले पुरा नगर्ने पनि स्पष्ट पारेका छन् । ‘पुनः भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।’

बालेन्द्र साह

विशेष