News

७५औँ स्वतन्त्रता दिवसमा मोदीले लाल किल्लामा फहराए राष्ट्रिय झण्डा

७५औँ स्वतन्त्रता दिवसमा मोदीले लाल किल्लामा फहराए राष्ट्रिय झण्डा

भारतले सोमवार आफनो स्वतन्त्रताको ७५औं वर्ष मनाउँदै छ । भारत स्वतन्त्र भएको ७५औं वर्षको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा राष्ट्रिय झण्डा फहराएका छन् ।

आज बिहान आयोजित विशेष कार्यक्रममा मोदीले भारत लोकतन्त्रको जननी भएको बताए। ‘हामी बापु, नेताजी सुभाषचन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं’ उनले भने–‘जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे।’

प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर–सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरेका थिए ।

‘यस विशेष स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द !’ प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गरेका छन् । राजघाटस्थित महात्मागान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेर स्वतन्त्र दिवसको सुरुवात भएको थियो । 

भ्रष्टाचारको विषयमा बोल्दै प्रधानमन्त्री मोदीले विगतका सरकारहरूमा देश लुटेर भागेकाले आफ्नो सम्पत्ति जफत गरेर फिर्ता ल्याउन खोजेको बताए । उनले ‘देशलाई लुट्नेहरू फिर्ता आउनुपर्छ भन्ने हाम्रो प्रयास हो, त्यो अवस्था सिर्जना गर्दैछौं । हामी भ्रष्टाचारविरुद्धको निर्णायक अवधिमा प्रवेश गरिरहेका छौं’ भने।

विगत ७५ वर्षमा भारतले कस्तो कठिन अवस्थाबाट गुजार्यो र आज विश्वको नजरमा कसरी उभिएको छ भन्ने उल्लेख गरेका छन्। ‘हामीले धेरै दुःख भोगेका छौं । कहिले आतङ्कवाद, कहिले युद्ध, कहिले खाद्य सङ्कटको सामना गर्नु परेको छ । स्वतन्त्रताको पुरै अवधि संघर्षमा बित्यो । आज प्रत्येक बलिदानी र ऋषिलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर हो। वीर सावरकर, नेताजी र अम्बेडकरलाई सम्झने समय हो।’

मोदीले अबको २५ वर्ष भारतका लागि निकै महत्वपूर्ण भएको बताए । उनले भने–‘आज म १३० करोड जनतालाई लाल किल्लाबाट भन्छु । साथीहरू, मलाई लाग्छ आगामी २५ वर्षको लागि हामीले हाम्रा सङ्कल्पहरू पाँच प्रतिज्ञाहरूमा केन्द्रित गर्नुपर्छ। २०४७ मा स्वतन्त्रताको सय वर्ष पुग्दा पञ्च प्राणको सन्दर्भमा स्वतन्त्रता प्रेमीका सबै सपना पूरा गर्ने जिम्मेवारी हामीले लिनुपर्छ ।’

उनले मङ्गल पाण्डे, तात्या टोपे, भगत सिंह, सुखदेव, राजगुरु, चन्द्रशेखर आजाद, अश्फाकुल्लाह खान, रामप्रसाद बिस्मिल र बेलायती शासनको जग हल्लाउने क्रान्तिकारीहरूप्रति देश कृतज्ञ रहेको बताए।
 

नरेन्द्र मोदी

विशेष