News विदेश

भारतीय दूतावासले काठमाडौंमा मनायो भारतको ७६ औं स्वतन्त्रता दिवस

भारतीय दूतावासले काठमाडौंमा मनायो भारतको ७६ औं स्वतन्त्रता दिवस

नेपालस्थित भारतीय दूतावासले काठमाडौंमा भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा यो कार्यक्रम आयोजना गरिएको हो।

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गर्दै कार्यक्रमको शुभारम्भ गरे भने भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाए । भारतको स्वतन्त्रताका लागि स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरिन।

भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गरेकी छिन् । 

दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत पनि गरेको छ। देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्रेरित गर्ने उद्देश्यले विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।

दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २ करोड ६५ लाख प्रदान गरी सम्मान गरेको छ। कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए । 
 

विशेष