News

विप्लव लगायत नेकपाका दुई दर्जनवढी नेता विरुद्ध पक्राउ पुर्जी

विप्लव लगायत नेकपाका दुई दर्जनवढी नेता विरुद्ध पक्राउ पुर्जी

हिंसाको राजनीति छाडेर शान्तिपुर्ण राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

ललितपुरा जिल्ला अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले उनीहरु विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेहरुमा विप्लव र विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा, सुर्खेतका धर्मेन्द्र बास्तोला, रोल्पाका सन्तोष बुढामगरलगायत २ दर्जन हाराहारीका नेता छन् ।

उनीहरुलाई ३५ दिन भित्र उपस्थित हुन अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी दिइएको छ । विप्लव र सरकारबीच ०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिपछि उनीहरु खुल्ला राजनीतिमा आएका थिए ।

हत्या हिंसामा लागेको भन्दै सरकारले ०७५ फागुन २८ गते लगाएको प्रतिबन्ध सोही समितिपछि हटेको थियो भने विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन, पक्राउ परेका बन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धका मुद्दा खारेज गर्न सरकार सहमत भएको थियो । 

तर जिल्ला अदालत, ललितपुरले भने सरकार र विप्लब समुहबीच भएको सहिमति अदालतलाई जानकारी नभएको जनाएको छ। श्रेस्तेदार विष्णुप्रसाद पाण्डेका अनुसार ०७५ जेठ १९ गते ललितपुरमा बरामद भएको डेटोनेटर, बारुदलगायतका विष्फोटक पदार्थ सम्बन्धी घट्ना, ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा दुईजनाको मृत्यु हुने गरी भएको विष्फोटको घटना, ललितपुरको हात्तिवनमा डेटोरनेटरसहित विप्लवका कार्यकर्ता समातिएको घटना र संगठित अपराध र आपराधिक लाभसम्बन्धीको मुद्दामा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा

विशेष