News राजनीति

माधव नेपाल रौतहट फर्किने, बामदेव बर्दिया छोडेर प्युठानबाट चुनाव लड्ने

माधव नेपाल रौतहट फर्किने, बामदेव बर्दिया छोडेर प्युठानबाट चुनाव लड्ने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका छन् । २०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौं–२ बाट चुनाव लडेका थिए ।

रौतहट आफनो लागि सुरक्षित र गृह जिल्ला पनि भएकाले नेपालले काठमाण्डौं छोड्ने योजना बनाएको उनको निजी सचिवालयले जनाएको छ । स्थानीय तह निर्वाचनको परिणामले काठमाडौं–२ भन्दा रौतहट–१ सुरक्षित हुने देखिएपछि नेपाल चुनाव लड्न रौतहट नै फर्किने मनस्थितिमा पुगेको उनी निकट एक नेताले बताए ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गौरसहित चारवटा पालिका जितेको थियो । स्थानीय तह निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा वडाको मत हेर्दा एकीकृत समाजवादीले सबैभन्दा धेरै १९ हजार ६९८ मत पाएको छ ।

कांग्रेस १६ हजार ९२८ मत ल्याएर दोस्रा, लोसपा १२ हजार ६२ मत ल्याएर तेश्रो, जसपा ८ हजार २४१ मत ल्याएर चौथो तथा माओवादी केन्द्र ८ हजार १९१ मत ल्याएर पाँचौ भएका थिए भने नेकपा एमाले ७ हजार ३८५ मत ल्याएर छठौं भएका छन ।

०७० को निर्वाचनमा रौतहट र काठमाडौंबाट प्रतिष्पर्धा गरेर दुबै ठाउँमा चुनाव जितेका नेपालले ०६४ मा भने दुबै निर्वाचन क्षेत्रमा हार व्यहोरेका थिए । 

यसैगरी, नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत वामदेव गौतम बर्दिया छोडेर प्युठानबाट चुनाव लड्ने भएका छन् । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी केन्द्रसँग प्रस्ताव गरेको जनाईएको छ।

०७० मा गौतमले प्युठान–१ र बर्दिया–१ बाट जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि गौतम बर्दिया–१ बाट चुनाव लडेर हारे।

कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित गौतमले आगामी चुनाव भने प्युठानबाट लड्ने मनसाय बनाएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कतै पनि नलागेका गौतमले केही समय अगाडि मात्रै नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा एमालेको मत ३९ हजार ८७७ छ । यसैगरी नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२ र एकीकृत समाजवादीको १ हजार ४१७ मत छ ।

विशेष