News

निहारिका प्रकरणः शिवरामलाई ५ दिन थुनामा राख्न सिडिओको अनुमती

निहारिका प्रकरणः शिवरामलाई ५ दिन थुनामा राख्न सिडिओको अनुमती

धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको भन्दै आन्दोलन चर्काएपछि पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराम श्रेष्ठलाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय धनुषाले अनुमती दिएको छ।

श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले मंगलवार साँझ धनुषाबाटै पक्राउ गरेको थियो। सोधपुछका क्रममा प्रहरीलाई गाली गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले दावी गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। 

आफुलाई ललाइफकाइ बलात्कार गरेको आरोपसहित निहारिका आन्दोलनमा छिन्। ०७६ कात्तिक ६ गते कोठामा कोही नभएको मौकामा ललाइफकाइ, डर धम्की देखाएर आफूमाथि बलात्कार गरेको आरोप निहारिकाले लगाएकी छिन् ।

त्यसपछि उनले जबरजस्ती करणी मुद्दा दायर गरेकोमा मुद्दा चलिरहेकै समयमा २०७७ भदौ ०५ गते छोरालाई जन्म दिएकी थिइन्। २०७८ माघ २४ मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको निष्कर्ष निकाल्दै आरोपितलाई सफाइ दिएको थियो।

उक्त मुद्दामा फैसला गर्ने भट्टराई सर्वोच्च अदालतमा तानिएका छन्। उनीमाथि न्याय परिषद्ले अनुसन्धान गरिरहेको छ।

जेठ २८ देखि माइतीघरमा अनशन बसेकी उनले सरकारसँग ५ बुँदे सहमति गरेकी थिईन। तर, सहमति कार्यान्वयन नभएको भन्दै उनले साउन २० देखि पुनः अनशन सुरु गरिन। गत शुक्रबार राष्ट्रपति निवास शीतल निवासअघि शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्न लागेकी उनले प्रहरीले नियन्त्रणमा लिएर शिक्षण अस्पतालमा भर्ना गरेको थियो। 

उपचाररत निहारिकालाई भेट्न वुधवार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खाती त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । 

यो पनि,

निहारिका राजपुत

विशेष