News

एउटै रुखमा मृत फेला परेका किशोरीले भिडियो कल गरेको खुलासा

एउटै रुखमा मृत फेला परेका किशोरीले भिडियो कल गरेको खुलासा

कचनकवल गाउँपालिका ५ का पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

अनुशन्धानका क्रममा मृतक किशोरीहरुले घटनास्थलबाट भिडियो कल गरेको सूचना प्रहरीले पाएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मर्नुअघि ‘यही रुखमा झुण्डिएर मर्न लागेको’ भनेर एक जनालाई कल गरेका थिए। जिल्ला प्रहरी कार्यालय झापका डीएसपी बसन्त पाठकले पनि किशोरीहरुले घट्नास्थलबाट भिडियो कल गरेको सूचना पाएको वताए । तर, त्यसलाई पुष्टि गर्न बाँकी रहेको उनको भनाई छ।

उनीहरुले कोसँग कुरा गरे र अन्य के कुरा भए ? भन्ने विषयमा भने प्रहरी बोलेको छैन। पाठकले भने, ‘अब केही दिनमा फरेन्सिक ल्याबको रिपोर्ट आउला। त्यसपछि यी कुरा पनि पुष्टि हुन्छन्।’ अहिलेसम्मको अनुसन्धान र पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले उनीहरुले आत्माहत्या नै गरेको देखिएको पाठकले जानकारी दिए ।

अहिलेसम्मको सबै अनुसन्धानबाट आत्महत्या नै हो भन्ने संकेत मिलेपनि मृतकको साथमा भेटिएका मोबाइल फरेन्सिक ल्याबमा पठाएकाले त्यसको रिपोर्ट नहेरी थप कुरा गर्न नसकिने प्रहरीको भनाई छ। मोबाइलको रिपोर्ट र पोष्टमार्टमको विस्तृत रिपोर्ट आउन बाँकी छ। तर, प्रहरीले ती किशोरीको सम्पर्कमा देखिएका व्यक्तिलाई बोलाएर सोधपुछ गर्दा आत्माहत्या होइन भन्ने प्रमाण नमिलेको बताईएको छ।

तर तीन जनाले एकै पटक यसरी आत्महत्या गर्नु पर्ने कारण केही खुलेको छैन। तीनजनाले आत्माहत्या गरेको कुरा पत्याउन स्थानीयवासी पनि तयार छैनन्। यदि आत्महत्या नै हो भने पनि कारण के हो भन्ने खुलाउन प्रहरीलाई हम्मे हम्मे परेको छ। तीनजनाको समस्या एउटै खालको भए मात्रै सामूहिक आत्माहत्या गर्न सहमत भएको हुनुपर्ने प्रहरीको शंका छ। एउटा खालको समस्या पहिल्याउँदा आर्थिक कारण बाहेक अरु केही पनि नमिलेको प्रहरीहरु वताउँछन् ।

फरक फरक परिवारका तीन किशोरी ७ गते शनिबार घुमफिर गर्न भन्दै निस्किएका थिए। चिया बगानमा काम गर्ने उनीहरु चियाबगानकै रुखमा भोलिपल्ट मृत फेला परेका थिए। २ जना एउटै हाँगोमा र अर्की त्यही रुखको अर्को हाँगोमा झुण्डिएको अवस्था थिए। 

विशेष