News

प्रदेश सरकारको हकमा हामी सफल हुन सकेनौँः गगन थापा

प्रदेश सरकारको हकमा हामी सफल हुन सकेनौँः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले चुनावपछि सत्तारुढ गठबन्धन कायमै रहने ग्यारेन्टी के छ भन्दै प्रश्न गरेका छन् । अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि त्यसपछि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको उनको भनाई छ ।

शनिबार स्वयम्भुमा भएको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ‘हामी तालमेल गरेर चुनावमा भोट त मागौंला तर चुनाव भएको ६ महिनामा एउटा एकातिर अर्को अर्कोतिर हिँड्दैन भन्ने के ग्यारेन्टी छ ?’ ०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरण नै गरे पनि पछि अलग भएको उनले स्मरण गरे ।

उनले चुनावपछिको तालमेल उपयुक्त हुने बताए । ‘चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक हो । तर हामीले तालमेल गर्न हुँदैन भनेर के गर्ने अर्कोले गरिदिहाल्छन। निर्वाचनअघि तालमेल नगरेपछि हाम्रो स्थिति के हुन्छ ? २०७४ सालमा भोगेर आइसक्यौं ।’ उनले भने।

थापाले पाँच वर्षसम्म संघीयताको अभ्यास गर्दा प्रदेश सरकारहरूले पाउनुपर्ने हैसियत नपाएको बताए। उनले अहिले नै प्रदेश सरकार चाहिने र नचाहिने बहसमा पर्नुभन्दा अबका पाँच वर्षलाई प्रदेश सरकारको परीक्षाको रुपमा लिनुपर्ने बताए । महामन्त्री थापाले बितेका पाँच वर्षमा तीन तहकै सरकारले आ–आफ्नो कार्यक्षेत्र र भूमिकाबारे जनतालाई बुझाउन नसक्ने बताए ।

‘प्रदेशले जुन हैसियत पाउनुपर्ने हो, त्यो पाउन सकेको छैन । हामीले संघीय व्यवस्था बनाउँदै गर्दा जुन स्पष्ट दृष्टिकोण राखेका थियौँ, त्योअनुसार प्रदेश सरकार चल्न सकेनन्,’ उनले भने, ‘बरू स्थानीय सरकारको सन्दर्भमा हामीले सफलता पाएका छौँ । तर प्रदेश सरकारको हकमा हामी सफल हुन सकेनौँ । यो तितो यथार्थ हामीले बोल्नैपर्छ । हामीले जे सोचेर प्रदेश सरकार बनाएका थियौँ, त्योअनुसार काम हुन नसकेको सत्य हो । यसमा प्रदेश सरकारमात्रै होइन, संघीय सरकार पनि दोषी छ ।’

महामन्त्री थापाले पाँच वर्षसम्म प्रदेश सरकारहरुले ठीक ढंगले काम गर्न नसक्दा प्रदेश सरकार किन चाहियो भनेर प्रश्न उठ्न थालेको बताए ।

‘जसरी स्थानीय तहले स्थानीय क्षेत्रको आवश्यकता र स्रोत साधनको पहिचान गरी परिचालन गर्छ, प्रदेशले ठीक त्यसैगरी प्रदेश क्षेत्रको काम गर्नुपर्ने हो । तर, हामी कहाँ त्यसको राम्रो अभ्यास हुन सकेन,’ उनले भने, ‘संघीय सरकारले पनि प्रदेशलाई त्यो हैसियत दिन चाहेको देखिएन । प्रदेशले जसरी भूमिका निभाउनुपर्थ्यो, त्यो पनि सकेन । खासमा हामीले प्रदेश सरकार किन बनायौँ भनेर जनतालाई बुझाउनै सकेनौँ ।’
 

विशेष