News

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवन उदघाटन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवन उदघाटन

भारतको सहयोगमा नुवाकोटको विदुर नगरपालिकामा निर्मित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको भवन मंगलवार उदघाटन गरिएको छ।

भारतीय दुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन। कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो । 

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत नेरु २ करोड ५० लाखको लागतमा उक्त भवन निर्माण भएको हो। सामुदायिक विकास परियोजनाको रुपमा भवनको निर्माण भएको दुतवासले जनाएको छ। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ परियोजनाहरु मध्येको यो एक हो । 

सन् १९५१ मा स्थापना भएको यो विद्यालयको भवन भारतीय इन्जिनियर श्री केआई सिंहले डिजाइन गरेका हुन् । यस विद्यालयमा १ हजार ३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सात वटै प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेको दुतावासले जनाएको छ।


 

भारतीय दुतावास त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय

विशेष