News

जनार्दनमाथि उच्च स्तरीय जाँचबुझको माग गरेको रिट सर्वोच्चले गर्यो ‘दरपीठ’

जनार्दनमाथि उच्च स्तरीय जाँचबुझको माग गरेको रिट सर्वोच्चले गर्यो ‘दरपीठ’

अर्थमन्त्री जनार्दन शर्मामाथि उच्च स्तरीय जाँचबुझको माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट दरपीठ भएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले उपभोक्ता संरक्षण मञ्चले दर्ता गर्न ल्याएको रिट दरपीठ गरिएको बताए। 

सर्वोच्च अदालतमा पेश भएको निवेदन प्रशासनले दर्ता गर्न अस्वीकार गरी जारी गर्ने आदेशलाई ‘दरपीठ’ आदेश भनिन्छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर चलखेल गरेको भन्दै मन्त्री शर्मामाथि उच्च स्तरीय जाँचवुझको माग गर्दै मञ्चले रिट दर्ता गर्न खोजेको थियो।

समिति बनाउने र छानबिन गर्ने अधिकार संसदको भएको लगायतका आधारका कारण देखाउँदै उक्त रिट दरपीठ गरिएको पौडेलले जानकारी दिए । सर्वोच्च अदालतका कामु मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिटमा दरपीठ गरिदिएका हुन् ।

उपभोक्ता हित संरक्षण मञ्चले सीसीटीभी फुटेज प्रकरणबारे छानबिन गर्न जाँचबुझ समिति गठन गर्न आदेश माग गर्दै निवेदन दिएको थियो । मञ्चले यो विषय संसदीय समितिले मात्र नभई स्वतन्त्र जाँचबुझ समितिबाट अनुसन्धान गराउनुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दिएको थियो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठेपछि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । तर उक्त समितिले अनधिकृत व्यक्ति प्रवेशको पुष्टि गर्न नसकेपछि शर्मा पुन अर्थमन्त्रीमा नियुक्त भइसकेका छन् ।
 

विशेष