News

सडक नै नभएको ठाउँमा पुर्वमन्त्रीको खेत पुग्न ५ करोडको पुल

सडक नै नभएको ठाउँमा पुर्वमन्त्रीको खेत पुग्न ५ करोडको पुल

गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले सडक नै नभएको ठाउँमा आफनो खेत पुग्नका लागि दरौदी नदीमा ५ करोडको पुल वनाएको आरोप लागेको छ। आफु पदमा भएका बेला उनले शक्ति र पदको चरम दुरुपयोग गरी यो पुल बनाएको स्थानीयको आरोप छ।

सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने गरी पक्की पुल निर्माण सम्पन्न हुनै लागेको छ। तर, पुलको नत वारि सडक छ नत पारि।  पुलको एकापट्टि हराभरा धान खेत छ भने अर्कातर्फ जंगलसहितको ठूलो पहरा छ। यो विच भएर वग्ने दरौदी नदीमा अहिले ५ करोड ३९ लाख ८० हजार खर्च गरेर ५० मिटर लामो मोटरवेल पुल निर्माण सम्पन्न हुन लागेको छ।

सडकै नभएको ठाउँमा मोटरेबल पुल बनेपछि स्थानीयवासी पनि चकित छन्। उसो त सोही आसपासमा दरौदी नदीमा अन्य सात वटा पुल पनि छन् । जसलाई वारिपारि सडकले जोडेको छ। तर जरेबरमा हालसालै वस्नेतले मन्त्री हुँदा निर्माण गराएको पुलमा दुवैतर्फ सडक छैन। स्थानीयवासीका अनुसार खासमा वस्नेतले उक्त पुल आफ्नो बेंसीको खेतमा पुग्न निर्माण गराएका हुन।

पूर्वमन्त्री बस्नेतको घलाङस्थित घरबाट उनको खेतसम्म लैजाने गरी तीन वर्षअघि नै कच्ची सडक निर्माण गर्न सुरु भएको थियो। तर सडक दरौंदीसम्म आइपुगेको छैन। अव यो पुल कुन सडकमा जोड्ने हो भन्ने अन्यौलता सुरु भएको छ। 

पुलैपुल भएको ठाउँमा वस्नेतले पदको चरम दुरुपयोग गरी अर्को पुल थपेको स्थानीयहरु नै वताउँछन् । एचटीसी, गोसाइँकुण्ड, आइएस निर्माण सेवा जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७७ जेठमा सम्झौता गरी काम सुरु गरेको थियो। जेठ १२ मै सम्पन्न भइसक्नु पर्ने भए पनि हालसम्म निर्माण कम्पनीले पुल हस्तान्तरण गरेको छैन।

पुल अन्तिम चरणमा पुगेपछि अव सडक कहाँ बनाउने भन्ने चिन्ता थपिएको स्थानीय सीताराम सुनार बताए। त्यहाँका मोहिहरूले आवश्यक्ता नै नभएको ठाउँमा सडकका लागि जग्गा नदिने भन्न थालेको उनको भनाई छ। सोच विचार नगरी र रायसल्लाह नगरी काम भएकाले अहिले समस्या सुरु भएको उनले वताए ।

पुलको मुखमा कुमाल बुढाको २ मुरी, ५० पाथी धान फल्ने खेत छ। वुढाले छोराले अरबबाट पठाएको पैसाले किनेको जग्गामा मरिगएपनि सडक बन्न दिन्न भनिरहेका छन् । यसरी वस्नेतले आफुखुसी काम गरेका कारण अन्य स्थानीय पनि आक्रोशित छन् ।

भौतिक पूर्वाधार कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले जरेवर–नारेश्वर–गोरखा बजार सडक खण्डअन्तर्गत दरौंदीमाथि पुल निर्माण गरिएको बताए । उनका अनुसार अहिले पुलको ९२ प्रतिशत वित्तीय र ९३ प्रतिशत भौतिक प्रगति भएको छ।

मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा वैकल्पिक बाटाका रूपमा जरेवर फाँटबाट सवारी सञ्चालन गरिएको थियो । सोही सडकसँग पुल जोड्ने योजना पनि भौतिक पूर्वाधार कार्यालयको रहेको उनले वताए । 

गोरखा–३ का वडाध्यक्ष चुलबहादुर कुँवरले पुल अति आवश्यक भएरै निर्माण भएको दाबी गरेका छन्। पुर्व मन्त्री वस्नेतले पनि पुल निर्माणमा आफनो कुनै स्वार्थ नरहेको दावी गरेका छन् । दरौंदी फाँटमा खेती गर्ने गोरखा नगरपालिकाका किसानलाई अन्नबाली घरसम्म पु¥याउन त्यहाँको सडक र मोटरेबल पुल जरुरी रहेको उनले बताए । चोरकाटेभन्दा माथिका खेतधनीलाई नदी तर्ने ठाउँ नभएकाले पुल बनाइएको उनको तर्क छ । वस्नेत भन्छन्–‘अहिले त कसैलाई नचाहिए जस्तो भएको छ। तर, त्यसको उपयोग हुन थालेपछि महत्व थाहा हुन्छ ।’
 

विशेष