News अपराध सुरक्षा

११ वर्ष कुवेत बसेर कमाएको सम्पत्ति हडप्न खोजेपछि श्रीमतीसहित परिवारकै हत्या

११ वर्ष कुवेत बसेर कमाएको सम्पत्ति हडप्न खोजेपछि श्रीमतीसहित परिवारकै हत्या

काठमाडौंको तारकेश्वर नगरपालिका– २ पदमसालमा सोमवार विहान मृत अवस्थामा फेला परेका ४ मध्ये तीन जनाको हत्या गरेर एक जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर, यसको आधिकारी पुष्टि भने हुन सकेको छैन।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई तारकेश्वर नगरपालिका–२, पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीया सुनीता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिकको शव बीभत्स अवस्थामा भेटिएको थियो।

घट्नास्थलमा दिनेशले लेखेको सुसाईड नोट समेत प्रहरीले फेला पारेको छ। सुसाईड नोटमा पत्निसँगको वेमेलका कारण आफुले तीनै जनाको हत्या गरी आफुले आत्महत्या गर्न वाध्य भएको उल्लेख गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइती पक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको र आफूलाई घरेलु हिंसाको आरोपमा प्रहरीमा थुनाएको आरोप सुसाईड नोटमा लगाएका छन् । उनले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको पनि उल्लेख गरेका छन् ।

११ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र श्रीमती सुनीताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसकै कारण यो अवस्था आएको हुन सक्ने प्रहरीको प्रारम्भिक निस्कर्ष छ। प्रहरीका अनुसार पारिवारिक विवाद तीन पटक बालाजु प्रहरी र एक पटक महाराजगन्ज वृत्तसम्म पुगेको थियो ।

पछिल्लो पटक दिनेशले आफू बस्दै आएको घर पत्नीलाई थाहै नदिई बिक्रीको प्रयास गरेको तर घर सुनीताका नाममा रहेकाले विवाद बढेको थियो । सोही विवादका कारण दिनेशले आवेशमा आएर यस्तो घट्ना घटाएको हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरीले जनाए । उनका अनुसार दिनेशका छोराछोरी र श्रीमतीको पेट, छाती र टाउकामा धारिलो हतियार प्रहार गरिएको छ।

काठमाडौं प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र दुई छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने देदिएको छ। तर, पोस्टमार्टम रिपोर्ट र प्रहरीको विस्तृत अनुसन्धान नआएकाले यकिन हुन नसकेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले वताए ।

पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चारै जना सदस्य सोमवार विहान मृत भेटिएका थिए। बिहान परिवारका कोही पनि बाहिर ननिस्केको र घरमा भित्रबाट चुकुल लगाएको पाइएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी ढोका फोडेर भित्र जाँदा उनीहरुको शव फेला परेको थियो।

तारकेश्वर नगरपालिका हत्या

विशेष