News मनोरञ्जन

टिकटक बनाउने दश जनालाई पाँच हजार जित्ने अवसर

टिकटक बनाउने दश जनालाई पाँच हजार जित्ने अवसर

‘साइनोको अभाव’ गीतमा टिकटक बनाउने दशजनालाई पुरस्कृत गरिने घोषणा गरिएको छ । 

रत्न मावि तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराई र शान्ति श्री परियारको स्वरमा रहेको ‘साइनोको अभाव’ गीतमा टिकटक बनाउने उत्कृष्ठ दश जना पुरस्कृत गरिने शिक्षक तथा गायक रमेश बाबु भट्टराईले बताए । 

भट्टराइका अनुसार भदौ गीतको कुनै टुक्कामा टिकटक बनाउने १० जनालाई प्रति व्यक्ति पाँच हजार पुरस्कार दिइने छ । उनले भने, ‘भदौ १४ गतेसम्म गीतको कुनै एक टुक्कामा टिकटक बनाउने उत्कृष्ठ १० जनालाई प्रतिव्यक्ति ५ हजारका दरले पुरस्कार दिने छौँ ।’


रत्न मावि तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराई र शान्ति श्री परियारको स्वरमा रहेको ‘साइनोको अभाव’ गीत सार्वजनिक भएको छ । पश्चिम नेपालको मौलिक झ्याउरे लयमा गाइएको गीत २६ साउनमा सार्वजनिक भएको थियो । 


मौलिक गीत, संगीतलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै लगानीमा गीत बनाइएको भट्टराई बताउँछन् । मौलिक गीत, संगीत लोप हुँदै गएको अवस्थामा झ्याउरे गीतका माध्यमबाट गीत, संगीतको प्रवर्द्धन गर्न खोजिएको भट्टराईको तर्क छ । 

गीतको भिडियोमा कलाकारलाई मौलिक नेपाली पोसाकमा सजिएको देख्न सकिन्छ । गीतको अभिनयमा महिला मखमल र भेलभेटको चोलो, घलेक, लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएका छन् ।  

गुरुङ समुदायले हातमा चुरा, काँक्रे बियाँ औँठी, गलामा हरियो पोते, जन्तर, मुगाको माला, नौगेडी एवं ठोकाकण्ठ, शिरबन्दी, लाहुरे फुली, ढुंग्री लगाउने चलन छ । गीतमा गुरुङ समुदायको भेषभुषालाई प्रदर्शन गर्न खोजिएको छ । 


पेशाले शिक्षक रहेका भट्टराई पछिल्लो समय कलाकारिता क्षेत्रमा पनि सक्रिय देखिएका छन् । शिक्षक भएर किन कलाकारिता रोज्नु भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिक्षक सिर्जनशील हुनुपर्छ । बालबालिकाका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न शिक्षकले हरेक भुमिका निर्वाह गर्न सक्नु पर्दछ भन्ने देखाउनका लागि यो प्रयास गरेका हौँ । साथै कला, भाषा, संस्कृति संरक्षण गर्नुपर्छ भन्ने पनि हो । हामीले गीत गाएर पैसा कमाउने सोचेका छैनौँ ।’

लगत्तै चेलीबेटी बेचबिखनसम्बन्धी जनजागरण फैलाउने गीत सिर्जना गर्ने तयारीसमेत रहेको भट्टराईले जानकारी दिए । गीतमा नवराज कौड्यालले लय भरेका छन् । संगीत कञ्चन परियारको रहेको छ । काठमाडौं आसपासका ग्रामीण बस्तीमा छायांकन गरिएको गीतले दर्शकको प्रशंसा पाइरहेको छ ।

 

टिकटक

विशेष