विशाल बजारलाई बालेन्द्रको २४ घण्टे अल्टिमेटम
![विशाल बजारलाई बालेन्द्रको २४ घण्टे अल्टिमेटम](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/08/bishal.jpg)
अन्डरग्राउन्ड पार्किङ व्यवस्थापन तथा अनधिकृत संरचना भत्काउने कार्यमा आक्रमक भएर लागेका काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएका छन ।
सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।
विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दावी गरेको थियो । महानगरले मेयर साहको नेतृत्वमा गत सोमबार नयाँबानेश्वरबाट सुरु भएको अभियानले आइतबार पनि निरन्तरता पायो ।
आइतबार भोटाहिटीस्थित सब–वेमा बनाइएको अनधिकृत संरचना भत्काइएको छ । जमिन तला, बेसमेन्ट, सेमी बेसमेन्ट, भुइँतलालाई स्वीकृत नक्साबमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको पाइएकाले महानगरले गत साउन २ मा स्वीकृतिअनुसार नै प्रयोग गर्न ३५ दिने सूचना निकालेको थियो ।
सूचनालाई बेवास्ता गरेको पाइएपछि मेयर बालेन्द्र, ट्राफिक प्रहरीसहितको टोली अनधिकृत रुपमा बनाइएका त्यस्ता संरचना हटाउन लागिपरेको हो । आइतबारै सुन्धारास्थित कर्मचारी सञ्चय कोषको काठमाडौं मलको भुइँतलामा बनाइएको सटर हटाएको महानगरले जनाएको छ । यसअघि मलअघि बनाइएका अनधिकृत संरचना हटाइएको थियो ।
अहिले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा एक लाइन मात्रै पार्किङको व्यवस्था गरिइको छ । सवारीसाधनको चाप बढेपछि पार्किङलाई थप व्यवस्थित बनाउन शुक्रबारदेखि यस्तो व्यवस्था गरिएको हो ।
भूगोलपार्क, धर्मपथ र पिपल्स प्लाजा क्षेत्रमा यो व्यवस्था लागू गरिएको छ । सडकको दुवतर्फै पार्किङ गरेको पाइए कर्मचारी र सवारीधनी दुवैलाई कारबाही गरिने भनाइ छ । उक्त क्षेत्रमा महानगरकै ठेक्कामा निजी कम्पनीले पार्किङ शुल्क उठाउँदै आएको छ ।