कैलालीमा प्रहरीले बरामद गरेको नौ सय किलो चिनी हरायो
जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको करिब नौ सय किलो चिनी कार्यालयबाटै हराएको छ ।
कार्यालयबाट बरामद चिनी हराएपछि प्रहरीवृत्तमा खैलाबैला मच्चिएको छ । घटनामा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । गत ८ भदौमा प्रहरीले ५० किलोका १८ बोरा चिनी बरामद गरेको थियो । जून चिनी प्रहरी कार्यालयमा पनि छैन भने भन्सारमा पनि बुझाइएको रेकर्ड छैन । सइ मदन धामी नेतृत्वको प्रहरीले चिनी बरामद गरेको र एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गायब बनाएको आरोप लागेको छ ।
प्रारम्भिक छानबिनमा प्रहरी लापरबाही देखिएपछि सुदुरपश्च्मि प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले एसपी राठौरसँग स्पष्टिकरण सोधेका छन् । छानबिन सुरु भएपछि भन्सारमा चिनी बुझाएको विवरण तयार पार्न चलखेल भइरहेको स्रोत बताउँछ ।