News विदेश

चीनको चेतावनीलाई अमेरिकाको चुनौतीः सभामुख नान्सीले गरिन ताईवानको भ्रमण

चीनको चेतावनीलाई अमेरिकाको चुनौतीः सभामुख नान्सीले गरिन ताईवानको भ्रमण

चीनको धम्कीपूर्ण चेतावनीको वेवास्ता गर्दै अमेरिकी सभामुख नान्सी पेलोसीले ताईवानको भ्रमण गरेकी छिन् । एसिया भ्रमणका क्रममा पेलोसी मंगलबार साँझ ताइवानको राजधानी ताइपेई पुगेकी हुन।

सोङसान विमानस्थलमा उनलाई ताईवानका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । ताइवानले उनलाई उच्च नागरिक सम्मान ‘अर्डर अफ पर्पसियस क्लाउड्स विथ स्पेसियल ग्रान्ड कोर्डन’ प्रदान गरेको छ ।

ताइवानी राष्ट्रपति साई इङ वेनले पेलोसीलाई उक्त सम्मान प्रदान गरेकी हुन् । उक्त अवार्ड प्रदान गर्नुअघि दुवै जना एकअर्काप्रति झुकेर सम्मान व्यक्त गरेका थिए । बुधबार राजधानी ताइपेईस्थित राष्ट्रपति भवनमा भएको कार्यक्रमलाई दुवै जनाले सम्बोधन गरेका थिए ।

सभामुख पेलोसीले ताइवानप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताइन् । २५ वर्षयता ताइवान भ्रमण गर्ने पेलोसी पहिलो अमेरिकी उच्च अधिकारी हुन । सन् १९९७ मा तत्कालीन अमेरिकी सभामुख न्युट गिंगरिचले ताइवान भ्रमण गरेका थिए । पेलोसीको कार्यालयले भने यसअघि ताइवान भ्रमणबारे औपचारिक जानकारी दिएको थिएन ।

पेलोसीको भ्रमणलाई लक्षित गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सार्वभौमसत्तामाथि अमेरिकाले आक्रमण गरेको बताएका छन् । वाङले अमेरिकालाई चारवटा कुरा बन्द गर्न आग्रह गरे। चीनको एकीकरण प्रक्रिया(ताइवानसँग), चीनको विकासको बाधक बन्न, भूराजनीतिक अवस्थालाई तोडमोड गर्न र सही वा गलतबीचमा द्विविधा उत्पन्न गराउने काम बन्द गर्नुपर्ने उनको भनाइ छ ।

चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग भन्दै आएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई उपयुक्त समयमा चीनमा एकीकृत गर्ने बताउँदै आएका छन ।
 

अमेरिकी सभामुख नान्सी पेलोसी

विशेष