सप्तरीमा हाईप्रोफाईल भिडन्त, उपेन्द्र र सिके राउत भिड्दै
गृह जिल्लामा यस्तो छ राउतको वर्चश्व, यादव पनि छैनन् कमजोर
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा यस पटक सप्तरी २ मा रोचक प्रतिस्पर्धा हुने भएको छ। यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले जितेको सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश राउत (सीके राउत) ले पनि चुनाव लड्ने भएका छन् ।
जनमत पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष राउतले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । उक्त क्षेत्रमा यसअघि तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) का अध्यक्ष यादवले माओवादी केन्द्रका उम्मेदवार उमेशकुमार यादवलाई पराजित गरेका थिए।
उपेन्द्रले २१ हजार ६२० मत पाउँदा उमेशले ११ हजार ५८० मत पाएका थिए । राउत भने त्यसेला चुनावी प्रकृयामा सहभागि भएका थिएनन्। तर, यस पटक भन सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेसँगै राउतले उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्ष यादवले यस पटक त्यहाँबाट चुनाव लड्ने÷नलड्ने टुंगो लागेको छैन।
सप्तरी–२ अध्यक्ष राउतको गृहजिल्ला र गृहनगर हो। उनी महादेवा गाउँपालिका–२ का वासिन्दा हुन। गत स्थानीय चुनावमा महादेवा–२ मा जनमत पार्टीका जागेश्वरप्रसाद ईसरसहितको टिम विजयी भएको भएको थियो । त्यस्तै सप्तरीका २ वटा स्थानीय तहमा समेत जनमत पार्टी विजयी भएको थियो । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा वीरेन्द्र माझी र वलान बिहुन गाउँपालिकाको अध्यक्षमा खेमचन्द्र यादव विजयी भएका छन् ।
यसैगरी, पार्टीका महासचिव चन्दनकुमार सिंहले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको क्षेत्र महोत्तरी–३ बाट चुनाव लड्ने भएका छन् । अन्य नेताले पनि उम्मेदवारीको घोषणा गर्दै जाने पार्टीले जनाएको छ।
उपेन्द्र यादव सीके राउत