बाबुरामले पार्टी छोड्दा अशोक राईलाई फाईदाः तेश्रोबाट पहिलो वरियतामा उक्लिए
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पार्टीमा हुँदा तेश्रो वरियतामा रहेका अशोक राई जसपाको पहिलो वरियतामा पुगेका छन् । अध्यक्ष उपेन्द्र यादव समेतलाई पछि पारेर राई पार्टीको पहिलो वरियतमा उक्लिएका हुन।
भट्टराई संघीय परिषद अध्यक्ष हुँदा यादव अध्यक्ष र राई वरिष्ठ नेताको रुपमा तेस्रो नम्बरमा थिए। तर, असार २९ गते वीरगञ्जमा बसेको केन्द्रीय समितिको वैठकले केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा राईलाई एक नम्बरमा ल्याइएको हो । डा. भट्टराईले पार्टी छोडेपछि उनको ठाउँमा राईलाई स्थापित गरिएको हो।
बैठकले भट्टराईलाई संघीय परिषद्को अध्यक्षबाट हटाएर राईलाई मनोनयन गरिएको थियो । तर पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था भएपनि यादवले केन्द्रीय समिति पुनर्गठन गर्दा एकजना अध्यक्ष मात्र राखेका छन् । अध्यक्षमै कुरा नमिल्दा भट्टराई पार्टीबाट आउट भएका हुन् ।
वैठकले आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि केन्द्रीय समितिको अध्यक्ष प्रमुख रहने गरी १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। बोर्डमा प्रदेश १ बाट दिपक याख्खा, मधेश प्रदेशबाट बालकिशोर यादव, हरिनारायण यादव, गोविन्द चौधरी रहेका छन्।
बागमती प्रदेशबाट लालबहादुर तामाङ, लुम्बिनी प्रदेशबाट सहसराम यादव, कर्णाली प्रदेशबाट वीरबहादुर शाही, सुदूरपश्चिमबाट हेमन्त माण्डव्य रहेका छन् । संघीय परिषद्का अध्यक्ष, वरिष्ठ नेता तथा सहअध्यक्ष पदेन सदस्य रहनेछन्।
जसपाले अगामी संघ तथा प्रदेशसभाको चुनावलाई लक्षित गरी निर्वाचन तयारी अभियान समितिको सचिवालय गठन गरेको छ । आठ सदस्यीय सचिवालयमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, चन्देश्वर प्रसाद सिंह, बागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापा, लुम्बिनी प्रदेशबाट मनिकर कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भीमबहादुर थापा छन् ।