News

जापान पुगेर प्रचण्डले भने– पूर्व प्रधानमन्त्री आबेसँग भेट्ने इच्छा पुरा भएन

जापान पुगेर प्रचण्डले भने– पूर्व प्रधानमन्त्री आबेसँग भेट्ने इच्छा पुरा भएन

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको एक महिनापछि त्यहाँ पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आबेलाई भेट्ने इच्छा पुरा नभएको बताएका छन् ।

पाँच दिने भ्रमणका लागि जापान पुगेका दाहालले आज बिहान नारिता विमानस्थलमा अवतरण भएपछि पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको दाहालले बताए ।

आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् । आवेको गत असार २४ गते गोली हानी हत्या गरिएको थियो। 

चुनावी अभियान अन्तर्गत नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो। जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ६७ वर्षीय आबेलाई आक्रमण गर्ने  संदिग्ध आक्रमणकारी ४० वर्षको पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। दाहालले आवेलाई भेट्न नपाएकोमा दुःख ब्यक्त गरे।

आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूतमार्फत प्रयास गरिरहेका बेला दुर्भाग्यपूर्ण घटना भएको उनले वताए । अध्यक्ष दाहालले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने  बताए ।

उनले आफू जापानमा रहेका नेपालीको अवस्थाबारे बुझ्न आएको बताएको पनि बताए । आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने उनले विश्वास लिएका छन्। दाहाल साउन २५ गते स्वदेश फर्किने छन् ।

विशेष