बाबुरामको आरोप– उपेन्द्रले जसपालाई संकीर्ण जातीय र क्षेत्रीय पार्टीमा पतन गराए
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले जसपा (जनता समाजवादी पार्टी) लाई संकीर्ण जातीय र क्षेत्रीय पार्टीमा पतन गराएको आरोप लगाएका छन् ।
ललितपुरको बालकुमारीमा शनिवार आयोजित नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले जसपाको मूल नेतृत्वमा जातिगत र क्षेत्रीयतागत संकीर्णता देखिएको आरोप लगाए ।
नेतृत्व जातिगत र क्षेत्रीयताबाट माथि उठ्न नसकेको र सुधार्ने प्रयास पनि असफल भएपछि पार्टीलाई पुनर्गठन गर्नु परेको उनको भनाई छ।
‘रूपान्तरणको अन्तिम प्रयास गरेका थियौँ । तर पुरानै बाटोमा हिँड्ने र उल्टै पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भयो । जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भयो, त्यसैले पुनर्गठन गर्न बाध्य भयौँ ।’ उनले भने।
भट्टराईले नेपालको राजनीतिमा आफूहरुले दुई÷तीनवटा प्रयोग गरेको, तर यसले मात्र परिणाम दिन नसकेको बताउँदै नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने धारणा राखे ।
भट्टराईले आफूहरुले फेरि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको पनि बताए। ‘हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ’ उनले भने–‘तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ।’
पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महिन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए ।