News राजनीति

झाँक्रीले माधव नेपाललाई नङ्ग्याउन खोजेपछि...

झाँक्रीले माधव नेपाललाई नङ्ग्याउन खोजेपछि...

छँदाखाँदाको मन्त्री पद खुस्काई दिएपछि नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री अहिले अध्यक्ष माधवकुमार नेपालसँग रुष्ट छिन्। सहरी विकास मन्त्रालयमा आँसुको भल बगाएर वाहिरिएदेखि नै उनको सम्वन्ध अध्यक्ष नेपालसँग खासै फरासिलो देखिएको छैन।

बरु उनले विभिन्न अन्तर्वार्ता मार्फत  नेपालकै खैरो खन्न थालेकी छिन् । जसका कारण अन्य नेताहरुसँग पनि झाँक्रीको सम्वन्ध विग्रिन थालेको छ। हालै एक टेलिभिजनबाट प्रसारित अन्तरवार्तामा झाँक्रीले नेपाललाई नङ्ग्याउन सकेसम्मको बल प्रयोग गरेपछि त्यसको काउण्टरमा मन्त्रीसम्मले जवाफ दिनु पर्यो।

अरु वेला माग्दा समेत सुचना नदिने मन्त्रालयले नेपाललाई जोगाउनकै लागि भएभरका सहमति र सम्झौता सामाजिक सञ्चालमा सार्वजनिक गर्यो। नेकपा एस निकट समाजवादी पत्रकार सङ्गठनका उपाध्यक्ष विश्वमणि सुवेदीले ति सम्पुर्ण कागजात फेसवुकमा राखेका छन् । उनले ‘कुरा सुनौँ–कागज हेरौँ’ भन्दै रामकुमारी झाँक्रीले लगाएको आरोपको भिडियो क्लिप र नेता नेपालले शिलान्यास गरेको आयोजनाको बजेट स्वीकृति विवरण लगायतका प्रमाणित कागजातहरू फेसबुक मार्फत सार्वजनिक गरे। सुवेदीको फेसवुकमा अहिले पनि ति कागजातहरु देख्न सकिन्छ।

खासमा पुर्वमन्त्री झाँक्रीले नेकपा एसका अध्यक्ष नेपालले सार्वजनिक खपतका लागि विभिन्न योजनाहरुको शिलान्यास गर्दै हिडेको आरोप लगाएका थिईन। रौतहटमा बिना बजेट, बिना योजनाको विकासको काम उद्घाटन गरेको भन्दै उनले आलोचना गरिन। 

उनले भनेकी थिइन–‘हिजो उहाँले गौरमा गरेको शिलान्यास न बजेट छ, न कार्यक्रम छ, न स्रोत सुनिश्चितता छ, न टेण्डर आह्वान भएको छ । उहाँ दुई दुई वटा धर्मशाला र सभाहलको शिलान्यास गरेर आउनुभयो । त्यो स्रोतको सुनिश्चितता पनि छैन । बजेटमा कार्यक्रम पनि छैन । ठेक्का पनि लगाएको छैन । ठेक्का प्रक्रिया पनि सुरु भएको छैन । अर्थले सुनिश्चितता पनि दिएको छैन । कुन स्रोतबाट काम गर्ने भन्ने थाहा पनि छैन । तर उहाँले शिलान्यास गर्नुभयो । कुरो त उही भएन र भन्या ?’

उनको यो अन्तर्वार्ताले पार्टीमा ठुलै खैलावैला मच्चियो। सहरी विकास मन्त्री मेटमणि चौधरीले झाक्रीको काउण्टरमा मन्त्रालयबाट विज्ञप्ति नै निकाल्न लगाए । मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जारी गरेको विज्ञप्ति राखेर स्वयम मन्त्री चौधरीले समेत फेसबुक मार्फत झाँक्रीको आरोपको खण्डन गरेका छन्।

‘पूर्व प्रधानमन्त्री एवं पार्टीका श्रद्धेय अध्यक्ष कमरेड माधव कुमार नेपालले सहरी विकास मन्त्रालयले आयोजना गरेको रौतहट जिल्लाको विभिन्न आयोजनाको शिलान्यास विषयमा भ्रम फैलाउने गरी केही मिडिया मार्फत प्रसारण भएको सुन्दा अचम्मित र दुःखी तुल्याएको छ’ उनले लेखेका छन्–‘मन्त्रालयले आयोजनाको शिलान्यास सबै विधि प्रक्रिया (आवश्यक वजेटको ब्यवस्थापन गरेर) पुरा गरेको छ । यसमा कुनै पनि मिडियाहरू भ्रममा नपर्नको लागि सबैमा अनुरोध छ ।’

यता, मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार रौतहटको गौर बोर्डर टाउनमा सहरी पूर्वाधार निर्माण, गौर सभाहल र राम जानकी विवाह मण्डपका लागि बहुवर्षीय योजनाका रूपमा २८ करोड छुट्याएको छ । आर्थिक वर्ष २०७९–०८० का लागि ७ करोड छुट्याएकोमा आर्थिक वर्ष २०८०–०८१ का लागि २१ करोड छुट्याइएको छ । बस्ती विकास कार्यक्रम अन्तरगत गौर नगरपालिका क्षेत्र भित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतिका लागि १२ करोड रुपैयाँ छुट्याईएको छ।

सडक तथा नाला स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको विवरण सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको छ।

उसो त मन्त्री फर्ने कुरा उठेदेखि नै झाँक्री नेपालसँग असन्तुष्ट थिईन। पार्टीले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन गरेको सिफारिस प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन गर्न आलटाल गरेपछि गत असार ८ गते नेपालले आफनै निवासमा झाँक्रीसहितका नेतालाई बोलाएका थिए ।

मन्त्रीहरु नै प्रधामन्त्री समक्ष गएर आफुहरुलाई नहटाउन विलौना गरेको जानकारीपछि उनीहरुलाई सहमतिमा ल्याउन नेपालले यो प्रयास गरेका थिए। छलफलमा तत्कालिन पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीको निर्णय अस्विकार मात्रै गरेनन्, झाँक्रीले नेपाललाई नै हप्काएर हिडेकी थिईन।

कोटेश्वरस्थित नेपालको निवासमा बाहिरै सुनिने गरी झाँक्रीले चर्को स्वरमा अध्यक्ष नेपाललाई जवाफ फर्काएको नेताहरुले वताएका थिए। अध्यक्षलाई हप्काएपछि स्थिति असामान्य बनेको थियो। पर्यटनमन्त्री आलेले भने स्थायी कमिटीको निर्णय सच्याएर धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए। वहालवाला मन्त्रीहरूले उल्टै विभिन्न ५ बुँदे सर्त राखेपछि नेपाल विच्किएका थिए ।

यो पनि,

 

नेकपा एकीकृत समाजवादी रामकुमारी झाँक्री माधवकुमार नेपाल

विशेष