निर्मला हत्या प्रकरणः अझै बाटो ढुकेर किशोरी जिस्क्याउँछन् दिलिप !
चार वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका २ की किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको घट्नामा पक्राउपछि छुटेका स्थानीय दिलिपसिंह विष्टले अझै पनि बाटो ढुकेर युवतीहरुलाई दुर्ब्यवहार गर्ने गरेको पाईएको छ।
दिलिपले बाटोमा हिड्ने किशोरीहरुलाई जिस्काउने र दुर्ब्यवहार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। निर्मला मृत भेटिएकै क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने किशोरीहरुले गुनासो गरेपछि विष्टको वारेमा जानकारी भएको प्रहरीले जनाएको छ।
प्लस टुमा अध्ययनरत युवतीलाई उनले बाटो ढुकेरै जिस्क्याउने गरेको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले बताए । सो विषयमा अनुसन्धान भइरहेको तर विष्टलाई पक्राउ नगरिएको उनले बताए ।
मानसिक सन्तुलन ठीक नभएका विष्ट यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल परेर छुटेका थिए । चार वर्षअघि बलात्कारपछि निर्मलाको हत्या आरोपमा पक्राउ पर्दा पनि उनले घट्ना स्विकार गरेको प्रहरीले जनाएको थियो।
मानसिक सन्तुलन ठीक नभएकै कारण विष्ट पक्राउ पर्दा वास्तविक दोसीलाई प्रहरीले उम्काउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिंदा प्रहरीले चलाएको गोली लागेर भदौ ८ गते स्थानीय १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भएको थियो।
निर्मला प्रकरण अहिले पनि सकिएको छैन। घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली विगत चार वर्षदेखि कञ्चनपुरमै छ । प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम निरन्तर गरिरहेको छ।
अहिलेसम्म शंकास्पद १०४ जनाको डीएनए परीक्षण गरिसकिएको प्रहरीले जनाएको छ।