News

हेटौडामा भयानक दुर्घटनाः एकै पटक जुधे ५ सवारी

हेटौडामा भयानक दुर्घटनाः एकै पटक जुधे ५ सवारी

हेटौडामा ५ वटा सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा करिव २० जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ५ वटा सवारी एक आपसमा ठोक्किएका हुन।

सोमबार बिहान ९ः०५ बजे सवैभन्दा पहिला ना ५ ख ६२४४ नम्बरको ट्रकले ना १ क ५१२३ नम्वरको रिलायन्स बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको थियो। त्यसपछि सोही ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएर बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो ।

त्यसपछि पुनः ट्रकले रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको ट्रकलाई पनि ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा विद्यार्थी, ट्रक चालक, सहचालक, कारका चालक गरी २० जनाभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। घाईतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

बस र ट्रक हेटौंडातर्फ आउँदै गरेको र ट्यांकर विपरीत दिशामा जाँदै गरेको प्रहरीले जनाएको छ। घटनापपछि प्रहरीले राजमार्ग सुचारु गरिसकेको छ। 
 

विशेष