News

बालेन्द्रलाई नर्भिकको ओठे जवाफः उचित कानुनी प्रक्रिया अवलम्बन गर्नु

बालेन्द्रलाई नर्भिकको ओठे जवाफः उचित कानुनी प्रक्रिया अवलम्बन गर्नु

नर्भिक अस्पतालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बिरामीहरूको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर उचित कानुनी प्रक्रिया अवलम्बन गर्न चुनौती दिएको छ । सोमवार आफै थापाथलीस्थित अस्पताल परिसरमा पुगेर बालेन्द्रले सरकारी जग्गा अस्पतालले अवैध रुपमा प्रयोग गरिरहेको आरोप लगाएका थिए ।  

सरकारसँग भएको सम्झौता विपरित र नक्सा पास नै नगराई निर्माण गरिएका भौतिक संरचना भत्काउन काठमाडौं महानगरपालिकाले सोमबार नर्भिकलाई २४ घण्टे अल्टिमेटम दिएपछि अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलवार पत्रकार सम्मेलन गरी निर्माण गरिएका संरचना तत्काल भत्काउन सम्भव नरहेको जवाफ फर्काए।

नर्भिकले आजको आजै संरचना भत्काए गम्भीर अवस्थामा उपचाररत बिरामीको ज्यान खतरामा पर्न सक्ने बताएको छ। महानगरले भत्काउन आदेश दिएको भवनमा अक्सिजन प्लान्ट, विजुली, पानीलगायत बिरामीका लागि अति महत्वपूर्ण साधन तथा उपकरण राखिएकाले उपचारमा कठिनाइ हुन सक्ने अध्यक्ष सिंहले वताए ।

काठमाडौं महानगरले भने संरचना भत्काउन आज २ बजेसम्मको अल्टिमेटम दिँदै अन्यथा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको थियो ।  नेपाल सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५, क्षेत्रफल १–८–१–१ को उक्त जग्गा नर्भिक अस्पतालले २० वर्षको लिज सम्झौता गरी संरचनाहरू निर्माण गरेर अस्पताल सञ्चालन गरेको हो ।

नर्भिकले संरचना हटाउन अधिकार महानगरको नरहेको पनि जिकिर गरेको छ । अध्यक्ष सिंहले २०६५ सालमा तत्कालीन भूमिसुधार अधिकारीसँग सम्झौता गरेको कागज देखाउँदै बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको जानकारी दिए ।

सम्झौता अनुसार प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने र अहिले जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको उनको भनाई छ । ‘त्यो जग्गाबाट हामीले टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेका छौं । त्यो सबै तुरुन्तै हटाइदिने हो भने अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीहरु के गर्ने ? उनीहरुको ज्यान गयो भने को जिम्मेवार हुने ?’– उनले प्रश्न गरे।

सम्झौताबमोजिम भाडा र नियमित ट्याक्स अस्पतालले तिर्दै आएको जिकिर गर्दै ०७५ सालमा एकमुष्ट सात लाख रुपैयाँ बुझाएको सिंहले वताए । उनका अनुसार जग्गाको लिज अझै आठ वर्ष बाँकी छ।

यो पनि,
नर्भिकका संरचना हटाउन बालेन्द्रको निर्देशन, अव लक्ष्मी बैंकको पालो ?

बालेन्द्र साह नर्भिक अस्पताल

विशेष