News

आफनै ३ वर्षे छोराको हत्या गरी फरार भएका बाबु पक्राउ

आफनै ३ वर्षे छोराको हत्या गरी फरार भएका बाबु पक्राउ

वर्दियामा आफनै ३ वर्षे छोराको हत्या गरी जंगलमा फालेर फरार भएका एक ब्यक्ति पक्राउ परेका छन् । बैतडी स्थायी घर भई हाल बाँसगढी नगरपालिका–५ मा वस्दै आएका डम्बरबहादुर बोहरालाई प्रहरीले सोमवार कोहलपुरबाट पक्राउ गरेको हो।

बोहोरा गत साउन १६ गते विहानै छोरा लिएर हिडेका थिए । श्रीमती कृष्णा चन्द सुतेकै अवस्थामा हिडेका उनी फर्केर नआएपछि परिवारले प्रहरी गुहारेको थियो। उनीहरुले ईलाका प्रहरी कार्यालय बाँसगढी बर्दियामा निवेदन हालेका थिए। 

छोरालाई लिएर बोहोरा सम्पर्कविहीन भएको भन्दै निवेदन दर्ता गरेको एक सातापछि प्रहरीले डम्बरबहादुरलाई कोहलपुरबाट पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार खोजतलासका क्रममा बोहोरालाई बिहान ९ बजे पक्राउ गरिएको हो।

तर, बोहोराको साथमा नाबालक छोरा नदेखेपछि प्रहरीले उनलाई केरकार सुरु गर्यो। उनले छोराको हत्या गरेर बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाको सिमानामा पर्ने ग्याङ नदीको पश्चिम क्षेत्रमा पर्ने जनकल्याण मध्यवर्ती सामुदायिक वनमा फालेको वताए । उनी स्वयमले छोराको हत्या गरेको स्विकारेका थिए।

बाँसगढी नगरपालिका ९ का वडाध्यक्ष चन्द्रबहादुर शाहीसहित जंगलमा गएर हेर्दा बोहोराले बताएकै स्थानमा बालकको शव भेटिएको डीएसपी सुवेदीले जानकारी दिए। शव हेर्दा ५÷६ दिन पहिले नै हत्या गरेर फालेको जस्तो देखिएको र छातीमा चिरेको घाउ पनि भेटिएको प्रहरीले जनाएको छ।

डम्बर र कृष्णा बाँसगढी नगरपालिका–५ मा कृष्णाको माइतीमै डेरा गरी बस्दै आएका थिए। उनीहरुको केही वर्षअघि १८ महिनाकी छोरी पनि बेपत्ता भएकी थिईन। उनको अवस्था अझै अज्ञात छ। छोरी हालसम्म नभेटिनु र अहिले छोरा सहित फरार भएर हत्या गरेको स्वीकार गरेपछि बोहोराले छोरी पनि वेपत्ता बनाएको आशंका प्रहरीले गरेको छ।

प्रहरीले सोही घट्नासँग सम्वन्धित भन्दै एक महिलालाई पनि पक्राउ गरेको छ। तर, त्यसको वारेमा प्रहरीले थप जानकारी दिएको छैन। स्थानीयले भने पहिलो पटक वेपत्ता भएकी डम्वरकी छोरी ति महिलासँग भएको हुन सक्ने आशंका गरेका छन् । बालकको हत्याको कारण अहिलेसम्म खुलेको छैन।
 

विशेष