News

७१ वर्ष शासन गरेकी बेलायती महारानीको निधनमा नेपाल यस कारण भयो विछिप्त

७१ वर्ष शासन गरेकी बेलायती महारानीको निधनमा नेपाल यस कारण भयो विछिप्त

बेलायतमा ७१ वर्ष शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते साँझ निधन भयो। सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथको स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको हो ।

१९६१ र १९८६ मा गरी आफ्नो जिवनकालमा दुई पटक नेपालको भ्रमण गरेकी एलिजाबेथको निधनलाई नेपालले ठुलो क्षतीका रुपमा महसुस गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्न लैनचौरस्थित बेलायती राजदूतावासमै पुगिन। उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन्। भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुराकानी गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाईन।

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली नागरिकले एक ठूलो प्रशंसक गुमाएको बताएका छन् । एलिजावेथलाई नेपालले सधैं सम्झिइरहने देउवाको भनाई छ। ‘महारानी एलिजाबेथ द्वितीयले कर्तव्य, सम्मान र सेवाले नै आफैलाई प्रतिष्ठित बनाउनु भएको थियो । अन्य संस्कृति तथा मानवताप्रति अनुग्रह, सादगी र सम्मान व्यक्त गर्ने गुणले नै महारानीलाई नेपाली नागरिकले श्रद्धापूर्वक सम्झिइरहनेछन्’– देउवाले भनेका छन्।

सरकारले महारानी एलिजाबेथको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरे।

दुई पटक नेपालको राजकीय भ्रमण गरेकी एलिजावेथ नेपालप्रति सद्भाव राख्थिन्। ब्रिटिश गोर्खाका कारण नेपाल र बेलायतबीचको मित्रता विशेष छ। सन् १८१६ देखि नै महारानी एलिजाबेथको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेको थियो ।

नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो मुलुक नै बेलायत हो। सन् १८१६ मा नेपाल र भारतको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

सन् १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धिपछि नेपालीहरू ब्रिटिश सेनामा भर्ती हुन थाले। भारत स्वतन्त्र भएपछि सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भयो। सोही बमोजिम नेपालीहरू बेलायती गोर्खा सेनामा भर्ती हुँदै आएका छन्।

महारानी एलिजाबेथले सन् १९६० र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेकी थिइन्। तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको पालामा एलिजाबेथको राजकीय भ्रमण भएको थियो।

यस्तो छ उनको शासनकाल
एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन भने फ्रान्सका लुई १४औं पछि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा विश्वमै दोस्रो स्थानमा पर्छिन । उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन ।

एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छ । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।

उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन् । 

संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष
करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन् । १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।

महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।
 

विशेष