News राजनीति

प्रचण्ड अझै पनि भन्दैछन– १० वर्षभित्र चमत्कार गर्न सकिन्छ, विकास गर्न सकिन्छ

प्रचण्ड अझै पनि भन्दैछन– १० वर्षभित्र चमत्कार गर्न सकिन्छ, विकास गर्न सकिन्छ

१२ वर्ष सशस्त्र द्वन्द्व र २/२ पटक देशको प्रधानमन्त्री हुदा समेत जनअपेक्षा अनुसार काम गर्न नसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै पनि १० वर्षभित्र चमत्कार गर्न सकिने बताउन छोडेका छैनन्।

आईतवार काठमाण्डौमा दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पनि उनले यही कुरा दोहोर्याए। राजनीतिक एजेन्डामा अब अल्झिरहने अवस्था नरहेकाले देशलाई विकासको मार्गमा लानुपर्ने उनको भनाई छ। ‘हामीले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना छ’ उनले भने –‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौँ। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौँ।’

उनले आफू अहिले पनि सामन्तवादको अन्त्यका लागि संघर्षरत रहेको बताए। ‘राजनीतिमा हामीले निरंकुशताको अन्त्य हुनुपर्छ र सामन्तवादको अन्त्य हुनुपर्छ भन्यौँ। त्यो अठोट अहिलेसम्म कायम छ।’– उनले भने।

उनले निरंकुशता र सामन्तबादलाई परास्त गरेको उदाहरण दिन आफुलाई गरिब परिवारको सदस्यका रुपमा उभ्याएर त्यो अवस्थाबाट उठेर दुई पटकसम्म देशको नेतृत्व गर्न सकेकोमा गर्व लाग्ने गरेको बताए। ‘मैले कहिल्यै नभएको विद्रोहको पनि कमान्डमा गरेँ। सबैले अवसर पाएर पनि यस्तो गर्न सक्दैनन् तर मैले गरेँ’ उनले भने–‘विस्तृत शान्ति सम्झौताबाट युद्धलाई शान्तिमा लैजाने काम पनि मैले गरेको थिएँ।’

उनले युद्ध लडेकैले शान्तिको महत्व पनि बुझ्ने बताए। ‘हामी बुद्ध जन्मेको देशका बासिन्दा हौँ । बुद्ध, बुद्धका शिक्षा र शान्तिका सन्देशलाई हामीले आत्मसाथ गरेका छौँ’, उनले भने, ‘शान्तिको महत्व त्यसले नै बुझेको हुन्छ, जसले युद्धलाई नजिकबाट देखेको हुन्छ।’

विशेष