चोलेन्द्र विरुद्धका सवै प्रश्नको बयान आजै सक्ने तयारी, दवावमा समिति
![चोलेन्द्र विरुद्धका सवै प्रश्नको बयान आजै सक्ने तयारी, दवावमा समिति](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/cholendra.jpg)
महाभियोग लागेपछि निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको बयान आजै सक्ने समितिले तयारी गरेको छ। आफूविरुद्ध लागेको आरोपबारे बयान दिन महाभियोग सिफारिस समितिमा जबरा उपस्थित छन्।
साढे १२ बजेदेखि सुरु हुने भनिएको केही ढिलो गरी सुरु भएको छ। चोलेन्द्र भने तोकिएको समयभन्दा पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुगेका थिए।
समितिले ४३ मध्ये बाँकी ३२ प्रश्नको जवाफ चोलेन्द्रसँग आजै लिन लागेको छ। ‘आज सबै प्रश्नको जवाफ लिइनेछ। सांसदहरुले पुरक प्रश्न सोध्ने छैनन। मूल प्रश्नको जवाफ लिइसकेपछि सांसदहरुलाई अर्को दिन पुरक प्रश्नका लागि समय दिइनेछ।’–कांग्रेसका सांसद एवम् समिति सभापति रामबहादुर विष्टले भने।
चोलेन्द्रले यसअघिका तीनवटा बैठकमा जम्मा ११ वटा प्रश्नको जवाफ दिइसकेका छन्। संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।
असोज २ गतेदेखि नै संसद नरहने प्रष्ट भएकाले हतारमा बयान सक्ने तयारी गरिएको हो। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले राणा माथिको छानबिन प्रतिवेदन कहिले बुझाउँछ भन्ने यकिन छैन।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। राणाविरूद्ध दर्ता भएको महाभियोग प्रस्ताव छलफलका लागि २०७८ फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो। तर त्यसको झन्डै ६ महिनापछि २०७९ साउन २२ गते मात्र महभियोग सिफारिस समितिमा पठाएको थियो। राणाविरूद्ध अहिले समितिले लागेका आरोपमाथि बयान लिने काम गरिराखेको छ।