News

कोरोना बीमाको रकम भुक्तानीका लागि १ अर्व निकासा

कोरोना बीमाको रकम भुक्तानीका लागि १ अर्व निकासा

सरकारले दावी भुक्तानी गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षदेखि रोकिएको कोरोना बीमाको रकम भुक्तानी गर्न १ अर्व निकासा भएको छ। सरकारले विमाको कुल १२ अर्ब ३२ करोडको दायित्व स्वीकार्दै १ अर्ब निकासा गरेको हो।

गत साताको मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै सरकाले कोरोना बीमाको दावी स्वीकार गरेको हो । १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।

बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएपनि सरकारको जिम्मामा रहेको १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी बाँकी छ । साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो । 

बीमा समितिले पनि उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दावी भुक्तानी हुने जनाएको छ । पहिलो चरणमा सर्वसाधारणको दावी भुक्तानी गरेर त्यसपछि मात्रै राष्ट्र सेवक कर्मचारिको भुक्तानी हुने समितिले जनाएको छ ।

भुक्तानी गर्न बाँकी दावी मध्ये ४२ हजार ४०५ वटा दावी राष्ट्र सेवक कर्मचारीको छ। जसमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी गर्नु पर्ने छ ।

विशेष