चिनियाँ नाकाबन्दीले नेपालको अर्थतन्त्र प्रभावित, दसैं दशा बन्ने
काठमाडौं- चीनले कोरोना महामारीलाई कारण देखाउँदै ३० महिनादेखि लगाएको नाकाबन्दी खुला गर्नुको साटो झन ठप्प पारेको छ। २०७६ माघदेखि चीनले नेपालसँगको सीमा नाका बन्द गराएको थियो। नेपालको पटक-पटक आग्रहपछि दैनिक १४ कन्टेनरहरु आउन दिइए पनि साउन २२ गतेदेखि भने पूर्णरुपमा बन्द गराएको छ।
चीनले लगाएको नाकाबन्दीका विषयमा नेपाल सरकार बेखबर छ। साउन २२ गतेदेखि नेपाल–चीन मुख्य नाका रसुवागढी र तातोपानी बन्द छन्। नाका के कारणले कहिलेसम्म बन्द भएको हो भन्ने नेपाली पक्षले आधिकारिक जानकारी नपाएको बताएको छ। यसरी चीनले लगाएको नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र पूर्णरुपमा प्रभावित भएको छ भने नजिकै आइरहेको दसैं पनि दशा बन्ने भएको छ।
नेपाल–चीन व्यापार गर्ने व्यवसायी तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले अहिले नाकामा लसुन, ओखर, स्याउहरु, लत्ताकपडा, जुत्ता र इलेक्ट्रिक सामान लगायत बाटोमै रोकिएका जानकारी गराएका छन्। उनका अनुसार यी वस्तुहरु लोड भइसकेर रोकिएका हुन्। चिन्ता लाग्दो कुराचाहिँ यिनमा बिग्रिने कुहिने खालका वस्तु पनि भएकोले लोड भएका सामान रोकिँदा व्यवसायीलाई मार परेको उनले बताए।
चाडपर्वमा चीनबाट दैनिक उपभोग्य वस्तु नै धेरै आउँछन्। अरु बेला पनि स्थलमार्गबाट आउने भनेको दैनिक उपभोग्य वस्तु नै हुन्। तर दसैँ तिहारका बखत भने केही फलफूल स्याउ र ओखर बढी आउँछ। यसबाहेक तयारी पोशाक उत्तिकै मात्रामा आउँछन्। नेपालमा बढी माग हुने चिनियाँ लत्ताकपडा तन्ना, पर्दाहरु, इलेक्ट्रिक सामान पनि आउने गर्छ। यी सामानहरुको बढी माग दसैँ तिहारमा हुन्छ। यसबाहेक नेपालमा उत्पादन हुने जुत्ताको कच्चा पदार्थ पनि यही समयमा धेरै आयात हुने गरेको छ।
उनले भने, 'अहिले २ सय हाराहारीमा लोड भएका गाडी रोकिएका छन्। यहाँ व्यापार गर्नेहरुले चीनबाट वस्तु ल्याउने हो। उहाँहरुले आफूले बेच्न सक्ने वस्तुहरु ल्याउँछन्। सोहीअनुसारको आयात गर्छन्। समयमा नआउँदा बिक्रीवितरणको काम पनि रोकिन्छ। यसले बजारमा वस्तु अभाव हुनसक्छ। अहिलेको नाकाबन्दीले धेरै माग हुने कपडाको अभाव हुनसक्छ। अझ भन्ने हो भने त्रिपक्षीय असर पर्छ। धेरै वस्तु खपत हुने चाडबाडको समयमा आयात नहुँदा सरकारको राजस्व पनि घट्छ। अर्कोचाहिँ, व्यापारीले बेच्न नपाउँदा घाटा हुने नै भयो। तेस्रो असर उपभोक्तालाई पर्छ। त्यो भनेको महंगी बढ्छ, चाहेअनुसारको वस्तु नै नपाउन सक्छ।'
त्यसकारण चीनको नाकाबन्दीले त्रिपक्षीय असर परिरहेको छ। चीनले कोरोनाको कारण यसो गरेको हुनसक्छ। हामी अहिले रोकिएको सामान मात्रै भए पनि खुलाउने पहल गरिदिन सरकारसँग माग गरेको पनि उनले बताए। उनले भने, 'हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग वस्तु आयात खुलाउने पहल गरिदिन भनेका छौँ। यदि त्यति पनि हुँदैन भने रोकिएको सामान भए पनि आयात गर्न पाउने माग राखेका छौँ। त्यस विषयमा मन्त्रीलाई भेटेरै भन्ने तयारी गरिरहेका छौँ। वस्तु लोड भएर रोकिँदा व्यापारीहरुको लागत दिनदिनै बढिरहेको छ।'