News

प्रचण्डले फेल गराए सिट बाँडफाँट कार्यदल

प्रचण्डले फेल गराए सिट बाँडफाँट कार्यदल

काठमाडौं- सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल असफल भएको छ। कार्यदलबाट सिट भागबण्डा भएको अवस्थामा माओवादीले थोरै सिटमा चित्त बुझाउनुपर्ने भएपछि प्रचण्डले ६० सिटमा दाबी गर्दै कार्यदललाई काम गर्न असफल पारेका हुन्। 

कार्यदलले सिटको भागबण्डा टुंग्याउन नसकेपछि बिहीबार शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन बुझाएको १२ घण्टा पनि नबित्दै प्रचण्डले आज दिउँसो शीर्ष नेतृत्वबाट भागबण्डा टुंग्याउने बताए। उनको यस अभिव्यक्तिले पनि प्रचण्ड कार्यदल असफल बनाउन लागेको स्पष्ट देखिन्छ। 

अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय आजै टुंगो लाग्ने बताएका हुन्। पोखरामा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। शुक्रबार (२४ भदौ) दिउँसो २ बजेदेखि बैठक बस्ने र ३ बजेपछि टुंगोमा पुग्नेगरी समझादारी बनेको उनले बताए। 

‘गठबन्धनको सकारात्मक ढंगले समझदारीको निकटमा छौं। हिजो अरु नेताको अन्यत्र कार्यक्रम नपरेको भए हिजैं टुंगो लाग्थ्यो,’ प्रचण्डले भने, ‘२ बजेबाट हामी र ३ बजेदेखि आजै टुंग्याउनेगरी अघि बढेका छौं। जटिल केही भएको छैन्। समझदारी बनाएर जान्छौं।’

सिट बाँडफाँटको विषयलाई पेचिलो बनाएका प्रचण्डले सत्ता गठबन्धनमा कुनै समस्या नभएको दाबी गरिरहेका छन्। अर्कोतर्फ प्रचण्ड पार्टीभित्रै आन्तरिक द्वन्द्वको सामना गरिरहेका छन्। 

उनलाई सिट बाँडफाँटमा आन्तरिक सकस हुने भएपछि कार्यदललाई पाखा लगाएर अघि बढ्ने योजना बनाएका थिए। कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा सिट बाँडफाँट भने भएको छैन।

विशेष