News

७७ मध्ये ७५ जिल्लामा फैलियो डेंगु, ७ जनाको मृत्यु

७७ मध्ये ७५ जिल्लामा फैलियो डेंगु, ७ जनाको मृत्यु

मुलुकका ७७ मध्ये ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत साउनदेखी आइतबारसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु फैलिएको र त्यसमध्ये १० वटा जिल्ला उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ । ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन जोखिममा रहेको तथ्यांकले देखाएको छ।

महाशाखाका अनुसार १० जिल्लामा मात्रै ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ । ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । 

प्रदेशतर्फ वाग्मतीमा ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको छ।
 
ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले डेंगु नियन्त्रण तथा रोकथाममा निरन्तर लागिपरेको दाबी गरेका छन् । विज्ञहरूका अनुसार डेंगुको अझै २ महिना जोखिम छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो भने सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएका थिए । ०१९ मा ६८ जिल्लाका १७ हजार ९ सय ९२ जनामा डेंगु पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको थियो ।
 

विशेष