News

प्रचण्डका घरबेटीले ३ वर्ष ठेक्का नपाउने, मन्त्रालयले गर्यो कारवाही

प्रचण्डका घरबेटीले ३ वर्ष ठेक्का नपाउने, मन्त्रालयले गर्यो कारवाही

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालोसूचीमा राखेर तीन वर्षसम्म कुनै ठेक्का नपाउने गरी कारबाही गरेको छ।

मन्त्री मोहम्मद इश्तियाक राईका अनुसार उनी मन्त्री हुनुभन्दा पहिला जारी भएको सार्वजनिक खरिद नियमावली १२औ संशोधनलाई कार्यान्वयनमा जोड दिएको छ। नियमावलीमा काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने र उनीहरूलाई तीन वर्षसम्म ठेक्का नदिने प्रावधान रहेकाले दाहालका घरबेटी ठेकेदार अधिकारी पनि कारबाहीमा परेको उनको भनाई छ।

‘हामीले घरबेटी ठेकेदारलाई कालोसूचीमा राख्यौं। सर्वोच्च अदालतले स्टेअर्डर दिएको थियो। त्यो पनि जित्यौं। कालोसूचीमा तीन वर्षको लागि राखिसकेका छौं,’ उनले भने,‘उनले ठेक्का पाएको पिप्ले–सिसडोल सडक फास्ट ट्रयाकबाट बनाउँदैछौं। चार महिनामा त्यो सडक बन्छ। कालोसूचीमा परेका घरबेटी ठेकेदारले तीन वर्ष ठेक्का पाउँदैनन्।’

आफु मन्त्री हुँदा एक व्यक्तिले धेरै ठेक्का ओगट्ने र काम नगर्ने समस्या देखिएको स्मरण गर्दै उनले आएकै दिन सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन भएको प्रष्ट पारे। ‘विगतमा ३ अर्बभन्दा माथिका ठेक्का नेपाली ठेकेदारले लिन नपाउने थियो। अब ५ अर्बसम्मका ठेक्का लिन पाउने बनाइएको छ। ५ वटाभन्दा धेरै ठेक्का एउटै ठेकेदारले लिन नपाउने प्रावधान राखिएको छ।’ उनले भने।

ठूला ठेक्का सबैमा विदेशी ठेकेदार आउँदा समस्यासमेत भएको उनले बताए।। ‘मुग्लिन–नारायणगढ, नारायणगढ–बुटवल सडक विदेशी ठेकेदारलाई दिएकै कारणले कारबाहीको प्रक्रिया अघि बढाउन समेत व्यवधान भएको छ।’ मन्त्री यादवले भने–‘ती ठाउँमा काम भइरहेको छ तर साह्रै सुस्त छ भने पनि उनीहरूलाई २०८० सम्म कारबाही गर्न नसक्ने प्रावधान छ। यो यसको नराम्रो पक्ष हो।’

विशेष