ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा पनि शाखा खोल्ने
ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सोलमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका छन् । दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्दै अन्तर्क्रिया गरिएको हो।
कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सोलमा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको बताएको थियो। अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताए।
उनले कोरियामा रहेका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका छन्। उनले भने, ‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव छ। अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिटेन्स भित्र्याउन तपाईहरूले सहजीकरण गर्नुप¥यो।’
अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकहरूमा रहेका नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनका लागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रकृया सुरू गरेकोमा बैंकलाई धन्यवाद दिए।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे।
आइएमई समूहले गैर आवासीय नेपालीहरूसँगको सहकार्यमा लमजुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अरु धेरै परियोजनाहरू पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैर आवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरूमा काम गर्न सकिने बताए।
उनले ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सोलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरू गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्विकृति पर्खिरहेको बताए।
दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरू नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि तयार रहेको बताए।