News राजनीति

लिङ्देनपछिको वरीयतामा राप्रपा छिर्दैछन रवीन्द्र मिश्र? 

लिङ्देनपछिको वरीयतामा राप्रपा छिर्दैछन रवीन्द्र मिश्र? 

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र उपाध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा जाने तयारीमा लागेका छन्। समानुपातिक तर्फको बन्दसूची बुझाउने दिन नजिकिँदै जाँदा मिश्रसहित उनको समूह र राप्रपाको एकताको विषय झन रफ्तारमा छ।

दुबै पक्षले केही दिनभित्रै एकता घोषणा गर्ने तयारी गरेका छन्। तर टुङ्गो लागेको छैन। राप्रपाले मिश्रलाई अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी सहअध्यक्ष पदमा प्रवेश गराउने तयारी गरेको थियो। तर राप्रपामा सहअध्यक्ष पद नै नभएका कारण वैधानिक संकट परेको छ।

भदौ २६ गते वसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मिश्र राप्रपामा आउने विषयमा कुरा भएको थियो। तर, मिश्रलाई सहअध्यक्ष बनाउने विषयमा उपाध्यक्ष बुद्धिमान तामाङ र विक्रम पाण्डेले असन्तुष्टि जनाए।

त्यसपछि मिश्रलाई उपाध्यक्षमा आउन र चुनावपछि पार्टीमा वरीयतालगायत विषयमा कुराकानी गर्ने प्रस्ताव गरिएको छ। मिश्रले पहिलो वरीयताको उपाध्यक्ष पाए पार्टीमा आउने संकेत गरेका छन्। तर यसमा पनि तामाङ र पाण्डेले स्विकृती दिएका छैनन्। मिश्रलाई एक नम्बर वरीयताको उपाध्यक्ष दिँदा पार्टीमा समस्या हुन सक्ने नेताहरुको आशंका छ। वरीयता नमिल्दा बुद्धिमान र विक्रम बैठकका निर्णयमा हस्ताक्षरसमेत नगरेको उनिहरुको भनाई छ।

राप्रपाका धेरै नेता तथा कार्यकर्ताले पनि मिश्र राप्रपामा आइदियोस् भन्ने चाहेका छन्। तर राप्रपाका एक÷दुई जनाले अवरोध गरेका छन्। एकता अघि मिश्रसँगै अन्य नेताहरूको वरीयता पनि टुंगिनु पर्ने उनिहरुको भनाई छ।

मिश्र राप्रपामा गएर काठमाडौं–१ मा प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुने तयारीमा छन्। उनी ०७४ मा पनि यो क्षेत्रमा चुनाव लडेका थिए। त्यसबेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट चुनाव जितेका थिए।

विशेष