News अर्थ

भैरहवा भन्सार कार्यालयमा पार्किङ शुल्कको आतंक !

भैरहवा भन्सार कार्यालयमा पार्किङ शुल्कको आतंक !

भैरहवा भन्सार कार्यालय परिसरको पार्किङ, गोदाम, सरसफाइ, सञ्चारलगायतको व्यवस्थापनको ठेक्का भदौ दोस्रो सातादेखि अन्नपूर्ण टर्मिनल्स प्रालिले पाएको छ। यसअघि १२ वर्षसम्म यसको जिम्मेवारी ट्रान्स नेपाल फ्रेड सर्भिस प्रालिसँग थियो । जिम्मेवारी हस्तान्तरणसँगै पार्किङ शुल्क अत्याधिक वृद्धि भएको हो।

जानकारी अनुसार भदौ १६ गतेसम्म मोटरसाईकलको ११, कार, जिप, भ्यानको ११७ रुपैयाँ ८९ पैसा, ठेला, रिक्सा ३५.३९, फलफुल सागसब्जीको १९० रुपैयाँ ३४ पैसा शुल्क निर्धारण गरिएको थियो। तर, नयाँ ब्यवस्थापनसँगै मोटरसाईकलको ७ दिनसम्म ३८९ रुपैयाँ ०६ पैसा र ८औं दिनदेखि ५१८ रुपैयाँ ७४ पैसा, कारजिप भ्यान ठेला रिक्साको ७ दिनसम्म ३८९ रुपैयाँ ०६ पैसा र ७ दिनपछि ५१८ रुपैयाँ ७४ पैसा तथा फलफुल सागसब्जीको शुल्क २५९ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।


यसैगरी, ट्रक/डिसिएम लोड/अनलोड चार्ज २३५ रुपैयाँ ८१ पैसा रहेकोमा अहिले ३८९ रुपैयाँ ०६ पैसा पुर्याईको छ भने सि–ट्रको चार्ज २३५ रुपैयाँ ८१ पैसाबाट १२९६ रुपैयाँ बनाईएको छ। अन्नपूर्ण टर्मिनल्स प्रालिका कर्मचारी रवी पारिखले पहिलाको तुलनामा ठेक्काको रकमै वढि भएकाले शुल्क पनि वढेको बताए। तर, शुल्क वृद्धिमा ठेकेदार कम्पनीको हात नभएको र ठेक्का प्रक्रियामा उल्लेख भएकै शुल्क कम्पनीले उठाईरहेको उनको दावी छ।


भैरहवा भन्सार कार्यालयका प्रमूख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले भने केही साना सवारीको पार्किङ शुल्कमा केही कमजोरी देखिएकाले सुधारको प्रक्रियामा रहेको बताए। भन्सार कार्यालयले आफ्नो माथिल्लो निकायमा पत्राचार गरिसकेको र ठेक्का सकारेको कम्पनी मार्फत पनि शुल्क ब्यवस्थापनमा महल भईरहेको उनले जानकारी दिए।


भारतको लिफ्ट एन्ड सिफ्ट सर्भिस प्रालि र नेपालको विन्ध्यवासिनी लजिस्टिक प्रालिबीचको ज्वाइन्टभेन्चरमा ठेक्काबाट अन्नपूर्ण टर्मिनल्स प्रालि तयार गरी भन्सारको व्यवस्थापनको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्स प्रालिलाई दिईएको हो।

६८ करोड ४ लाख रुपैयाँको ठेक्कामा आगामी पाँच वर्षका लागि भैरहवा भन्सार परिसरको व्यवस्थापनको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्सले लिएको हो ।

भैरहवा भन्सार कार्यालय

विशेष