News

चीनको अघोषित नाकाबन्दीको कारण नेपालमा व्यापारी आत्महत्याको संख्या बडदै

चीनको अघोषित नाकाबन्दीको कारण नेपालमा व्यापारी आत्महत्याको संख्या बडदै

काठमाडौं । न्यूरोडका असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले आत्महत्याको बाटो रोजेका छन् । उनले २०७९ भदौ ६ गते आत्महत्या गरे।

त्यसैगरी नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि निराश भएर २०७७ असोज २७ गते आत्महत्या गरेका थिए ।

यी दुबै व्यवसायी धेरै वर्षदेखि व्यवसायमा थिए र कोरोनाभाइरस महामारीको प्रकोप अघि राम्रो कमाई गरिरहेका थिए।

तर ती उद्यमीहरू चिनियाँ नाकावन्दीका दोहोरो जालमा परे। एकातिर उनीहरूका सामानहरू धेरै महिनादेखि सीमानामा परेका थिए । अर्कोतिए उनीहरूमाथि ठूलो मात्रामा ऋण थियो। एकातिर उनीहरू आर्थिक संकटबाट गुज्रिरहेका थिए भने अर्कोतिर बैंक तथा अन्य साहुले नियमित रूपमा किस्ता वा बक्यौता भुक्तानीको माग गरिरहेका थिए ।

आफ्नो सामानसहितका कन्टेनर लामो समयसम्म चिनियाँ सीमामा अड्किएपछि आर्थिक कारोबार बिग्रिएको भन्दै ती दुई उद्यमीहरूले आत्महत्या गरेका हुन् ।

सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ को प्रकोप देखा परेपछि चीनको सीमानाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको छ ।

नेपालले कुनै निर्णायक पहल नगरे पनि नेपाल सरकारले चीनसँग सीमा खोल्नका लागि पटकपटक बैठकहरू गरिसकेको छ । थुप्रै भेटघाट र छलफल भए। सीमाना पूर्णरुपमा दुवै तिरवाट सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।

गत चैतमा तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले दुवै उत्तरी बन्दरगाहबाट आयात–निर्यात सहज हुने गरी छिट्टै प्रबन्ध मिलाइने आश्वासन दिए । तर, अहिलेसम्म सीमाना खुकुलो भएको छैन ।

गत भदौमा चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि सीमाका विषयमा चीनसँग छलफल भइसकेको बताए तर त्यो भ्रमण र भेटको नतिजा अहिलेसम्म फलदायी देखिएको छैन ।

त्यस्तै, हाल चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको औपचारिक भ्रमणमा छन् । दशैं, तिहारजस्ता ठूला चाडपर्वका बेला चीनबाट आयात हुने सामान नेपाल भित्रिन सक्ने गरी तातोपानी र रसुवागढी नाका लगायतका नेपाल–चीन सीमानाका नाका तत्काल खोल्न सहजीकरण गर्न नेपाली नेताहरुले चिनियाँ पक्षलाई फेरि आग्रह गरेका छन् ।

लीले नेपाल–चीन व्यापार घाटा कम गर्न र सीमा नाका खोल्न पहल गर्ने आश्वासन पनि दिएका छ्न ।

नेपाल–चीन सीमानाका नाका खोल्ने धेरै पटक चिनियाँ नेताहरुले आश्वासन दिए पनि प्रतिवद्धता अनुसारको नतिजा देखिएको छैन । अब सीमाका विषयमा नेता ली झान्सुको नेपाल भ्रमण फलदायी हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

विशेष