ओली भन्छन्ः मैले दिएको वरदान प्रयोग गरेर प्रचण्डले मलाई नै भष्म पार्न खोजे
![ओली भन्छन्ः मैले दिएको वरदान प्रयोग गरेर प्रचण्डले मलाई नै भष्म पार्न खोजे](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/oli-7f563.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भस्मासुरको संज्ञा लिका छन्। आफूले दिएको वरदान प्रयोग गरेर दाहालले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।
माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले दाहालले आफूलाई छुरा हानेको पनि आरोप लगाए। ‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने’ भन्दै ओलीले नेकपा छँदा दाहालले आफुलाई पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए ।
‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन। प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ । नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’– ओलीले भने।
०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो । तर तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । ओलीले आफ्नो समूहको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरे भने प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए ।
तर, दुवैतर्फी प्रक्रियालाई निर्वाचन आयोगले वैधता दिएन र २३ फागुन २०७७ मा नेकपाको एकता नै खारेज भयो। सर्वोच्च अदालतले नामसम्बन्धी विवादमा फैसला गर्दा गर्दा एमाले र माओवादी केन्द्र पसर्ववत अवस्थामा व्यूँतिए।
यसरी दुई पार्टी अस्तित्वमा आएपछि ओलीतर्फ लागेका माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले पनि एमालेमा छन। त्यसैले ओली अहिले पनि माओवादी एमालेमा विलय भएको बताउँछन। तर दाहालले भने आफ्नो समूह मात्र लगेको र त्यसलाई नै माओवादी केन्द्र भन्ने गरेको बताउने गरेका छन्। दुई पार्टी अस्तित्वमा आएपछि ओली र दाहालले एकअर्काको कटु आलोचना गर्दै आएका छन्।