News

टुकुचा खोज्ने विद्यासुन्दरको सपना यसरी पुरा गर्दैछन बालेन्द्र

टुकुचा खोज्ने विद्यासुन्दरको सपना यसरी पुरा गर्दैछन बालेन्द्र

पार्किङ र फुटपाथ खाली गराईरहेका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह एकाएक टुकुचा खोला खोज्न एक्स्काभेटर लिएर जयनेपाल हल छिरेपछि अहिले राजदरबारको दक्षिण गेटदेखि कमलादीसम्म खोलो छोपेर महल बनाउनेहरु त्रसित छन्।

महानगरको टोलीले विहिबार जयनेपाल हलको कम्पाउन्डभित्रै १५ फिट खनेर टुकुचा खोला फेला पारेपछि उनिहरुको भोक/निन्द्रा हराएको छ। कतिपय भवन मालिकहरु अहिले सम्पर्कमा समेत आउन छोडेका छन्। खासगरी हात्तीसार क्षेत्रमा आफनो केन्द्रीय कार्यालय नै संचालन गरेको लक्ष्मी बैंकका कोही पनि जिम्मेवार पदाधिकारी यो विषयमा बोल्न चाहँदैनन्।

लक्ष्मी बैंकले खोला मासेर नक्सा पास नै नगराई ब्यापारीक भवन वनाएको आरोप लाग्दै आएको छ। भवन निर्माणकै क्रममा ०६४ सालमा महानगरपालिकाले पत्र काटेर बैंकको संरचना भत्काउन भने पनि अटेर गरेको पाईएको छ। यस विषयमा बैंकका चिफ इन्फरमेसन अफिसर पियुसराज अर्यालसँग पटक पटक सम्पर्क गर्दा पनि उनले जवाफ दिन चाहेका छैनन्।

लक्ष्मी बैंक मात्र होईन, यस क्षेत्रका अबैध संरचना हटाउन महानगरले पटक पटक सुचना जारी गर्दै आएको छ। ०६६ जेठ २४ गते महानगरपालिकाले सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलाको अतिक्रमण हटाउन भनेको थियो भने ०७६ सालमा वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गरेको थियो। सुचना जारी गर्ने तर फिल्डमा नजाने गर्न थालेपछि त्यो सुचनाको पनि वास्ता हुन छोडेको कतिपयले बताउने गरेका छन्। 

टुकुचाको खोजीको विषय पटक–पटक उठ्ने तर बीचमै सेलाउने गर्दै आएका बेला संघीयतापछिको पहिलो मेयर विद्यासुन्दर शाक्यले आफु जाँदाजाँदै अवैध संरचना हटाउने निर्णय गरेर विदा भए। त्यसपछि बैशाखको स्थानिय तह निर्वानमा बालेन्द्र साह मेयर निर्वाचित भएर आएपछि महानगरले १२ साउनमै सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसो साढे १ बजे जय नेपाल हलको परिसरमा महानगरको एक्स्काभेटर पुगेर उत्खनन् सुरु गरेपछि भने संलग्नहरुको मनमा ढ्याङ्ग्रो वजेको छ।
 
बालेन्द्रले परम्परा तोडेर टुकुचा निकालेर देखाएको महानगरका कर्मचारीहरु बताउँछन। मेयर साहका स्वकिय सचिव भुपदेव साहका अनुसार अहिले प्राविधिक टोलीले खोलाको यथार्थ अवस्था पत्ता लगाउने काम गरिरहेको छ। जानकारी अनुसार महानगरले बोनाफाइड इन्जिनियरिङ कन्सलटेन्सीमार्फत टुकुचाको खोला पहिलेको अवस्था, हालको भएको अतिक्रमण र महानगरले गर्नुपर्ने कामको सम्बन्धामा अध्ययन गरेको छ।

प्राविधिक सहयोगमा खोलाको भूमिगत भएको स्थानहरु पत्ता लगाएपछि चिन्ह लगाएर सम्पुर्ण अवैध संरचना हटाईने साहले बताए। विहिबार पनि महानगरपालिकाले तीन जना इन्जिनियरलाई सँगै राखेर खोला उत्खनन् गरेको थियो। खोलाको बारेमा यथार्थ विवरण आईसकेपछि विहानदेखि बेलुकैसम्म एक्स्काभेटर लगाएर अवैध संरचना हटाईने साहको भनाई छ। 

कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा बूढानीलकण्ठबाट सुरु भएर बालुवाटार, हात्तीसार, प्रदर्शनी मार्गहुँदै थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा, कुनै समय ठूलै खोला थियो।

तर, अहिले टुकुचा जव मध्यशहरमा पुग्छ, तब दोहन सुरु हुन्छ। प्रधानमन्त्री निवास ननिकैको बालुवाटार क्षेत्रदेखी कमलादीसम्म टुकुचा खोला मिच्ने र छोप्ने काम धेरै भएको छ। बालुवाटार क्षेत्रमा टुकुचा खोला छोपेर कतिपय स्थानमा पार्किङ बनाईएको छ भने कतिपय स्थानमा सडक बनाईएको छ।

नारायणहिटी दरबारको उत्तर गेटमा रहेको बाँसको झ्याङबाट छिरेको टुकुचा दरबारभित्र पनि खुल्ला रुपमा वगेको छ। तर राजदरबारको दक्षिण गेटबाट हराएको टुकुचा कमलादीस्थित काठमाडौं प्लाजानजिक मात्रै भेटिन्छ। दक्षिण गेटदेखि कमलादीबीचमा लक्ष्मी वैंक, जयनेपाल हल, शाख हाउस, सिद्धार्थ वैक, एसविएल डेभलपर्सलगायतका ६ तलेभन्दा अग्ला ब्यापारिक भवनसहित ६१ वटा आवासिय भवनहरु ठडिएका छन्।

महानगरका अनुसार यस क्षेत्रका अधिकांश संरचना नक्सा पास नगरी निर्माण गरिएका छन्। टुकुचा खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब छ। यो क्षेत्रमा खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । 

दशकौं अगाडि हराएको टुकुचा खोला कसरी र कस्ले वेपत्ता बनायो भन्ने विषयमा सरकार, महानगर र नापी विभाग अनभिज्ञ छ । तर कतिपयले भने यसको दोस नापी विभागलाई दिने गरेका छन्। खोला छ भन्ने देख्दा देख्दै त्यसमाथि नापी गर्नु नै गम्भीर लापरवाही भएको उपत्यका विकास प्राधिकरणका एक पूर्वआयुक्तले बताए। ‘शीरतर्फ पनि खोला छ, पुछारतर्फ पनि खोला छ, बीचमा खोला छैन भन्ने पनि हुन्छ ?’ उनी भन्छन्। उनका अनुसार यो क्षेत्र २०३३ सालमा नापी भएको हो । त्यतिबेला यो क्षेत्रमा खोला क्षेत्र कायम गरिएको थिएन । यसले यहाँको जग्गा व्यक्तिको नाममा दर्ता हुँदै किनबेच भएको पाईएको छ।

यो पनि 

टुकुचा खोला लक्ष्मी बैँक

विशेष