News

चोलेन्द्रलाई महाअभियोग लगाउने विषयमा सांसदहरुकै कुरा मिलेन

चोलेन्द्रलाई महाअभियोग लगाउने विषयमा सांसदहरुकै कुरा मिलेन

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन मिल्ले÷नमिल्ने विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलका सांसदहरुबीच मत भिन्नता देखिएको छ ।

समितिको सत्ता गठबन्धन पक्षका सांसदहरु चोलेन्द्रलाई महाभियोग लगाउनै पर्ने पक्षमा देखिएका छन भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु महाभियोग लगाउन प्रमाण नपुग्ने निश्कर्षमा पुगेका छन्।

शनिबार दिउँसो बसेको समितिको बैठकमा एमालेका सांसद कृष्णभक्त पोखरेलले अहिलेसम्म समितिलाई प्राप्त प्रमाण हेर्दा जबरा दोषी हुन् भन्ने प्रमाणित नहुने बताए। समितिले पाएको प्रमाणमा जबराको सम्पत्ति विवरण मात्र भएको भन्दै उनले त्यसबाट मात्र उनलाई महाअभियोग लगाउन नसकिने बताए ।

यसैगरी सांसद लालबाबु पण्डितले आदेश र फैसलाकै आधारमा जबरालाई महाअभियोग लगाउन नसकिने बताए । ‘आदेश र फैसलाका आधारमा जबरामाथि मूल्यांकन गर्ने हो भने सर्वोच्चका सबैजसो न्यायाधीशको आदेश र फैसलामा एकरुपता छैन’ उनले भने–‘ती सबै कारबाही र महाअभियोगको दायरामा आउँछन।’

भ्रष्टाचार गरेको आधारमा महाअभियोग लगाउने भन्ने हो भने उनको आजको यथार्थ सम्पत्ति कति हो, कति बढाए को को बाट लिए सबैको छानबिन हुनुपर्ने उनले बताए। त्यो सवै नआई निश्कर्षमा पुग्न नसकिने उनको भनाई छ।

उनले समितिलाई प्राप्त प्रमाणको विवरण सभामुखलाई बुझाउन सकिने बताए । सांसद पोखरेलले संकलित प्रमाण प्रतिनिधिसभामा पेश गर्न सकिने तर दोषी हुन् वा होइनन् भन्ने निश्कर्षमा पुग्न नसकिने बताए । ‘हामी उनलाई जोगाउनुपर्छ भन्ने पक्षमा छैनौं तर प्रक्रियाले पूर्णता पाओस् । अहिले हतार नगरौं’ उनले भने ।

महाअभियोग सिफारिस समितिले जबराले गरेका केही विवादास्पद फैसलाको विवरण, सर्वोच्च अदालतको भवन निर्माणको निर्णय गर्दाका कागजात र कतिपय व्यापारिक सम्बन्धका कागजात मागेको थियो ।

शुक्रबार संघीय संसद सचिवालयमा पेश भएको उनको सम्पत्ति विवरणमा ९ करोड ५० लाख रुपैयाँ ऋण रहेको भेटिएको छ भने आम्दानी स्रोत भने किस्ता र ब्याज तिर्न सक्ने देखिएको छैन। जबराले सम्पत्ति विवरणमा आफूसँग ९ करोड ५० लाख रुपैयाँ ऋण रहेको खुलाएका छन् । न्यायपरिषद सचिवालयले संघीय संसद सचिवालयलाई पठाएको विवरण अनुसार, उनले घरजग्गा धितो राखेर प्राइम कमर्सियल बैंकबाट ऋण लिएको उल्लेख गरेका छन्।

एक लाख हाराहारीमा तलब खाने उनले लिएको ऋण आम्दानीको तुलनामा निकै बढी छ । १० प्रतिशतका दरले व्याज तिर्दा पनि उनले मासिक ८ लाख र वार्षिक ९५ लाख रुपैयाँ बुझाउनुपर्छ । तर, कागजात हेर्दा आम्दानीले थेग्नै नसक्ने अवस्था देखिएको छ।

जबराको सम्पत्ति विवरण अनुसार, उनले १७ असार २०७७ मा भाटभेटनीमा १ रोपनी ८ आना जग्गा पत्नी रेजी क्षेत्री राणाको नाममा खरिद गरेका थिए । उक्त जग्गा ८ करोड २६ लाख रुपैयाँ लिखतमा पास गरेको देखिन्छ ।

जबराले १० प्रतिशतमा ऋण पाएको अनुमान गर्ने हो भने उनले वार्षिक ९५ लाख रुपैयाँ व्याजमात्रै बुझाउनुपर्छ । हिसाब गर्दा उनीमाथि मासिक ८ लाख रुपैयाँको आर्थिक भार पर्छ । जबराले परिवारका अरु सदस्य होइन, आफ्नै नाममा ऋण लिएको उल्लेख गरेकाले व्याज समेत उनैले तिर्ने अनुमान गर्नुपर्छ ।

विशेष