News

भैंसी पुजा गर्ने प्रचण्डको अर्तीः ढुंगा पुज्नु विज्ञानसम्मत होईन

भैंसी पुजा गर्ने प्रचण्डको अर्तीः ढुंगा पुज्नु विज्ञानसम्मत होईन

कुनै वेला भैसी पुजा गर्दै हिडेका, साईत जुराएर प्रधानमन्त्रीको सपथ लिएका तथा निर्वाचन क्षेत्र छनौट र मनोनयन दर्ता गर्दा समेत ज्योतिषीकै सहारा लिने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यसो भन्दै गर्दा धर्म नकारात्मक नभएको भन्न भने छुटाएनन्।

‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्। जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ’ उनले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन है फेरी । चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त ।’

‘हामी घरैपिच्छे पूजा गरी हिड्ने मान्छेलाई पुजागरी हिँडे कति राम्रो हुन्थ्यो । गरिबहरूलाई पूजा गरी हिँडे धेरै राम्रो हुन्थ्यो नि,’ उनले भने ।

विश्व कम्युनिष्ट आन्दोलन र माक्र्सवाद विज्ञानमा आधारित भएको वताएका उनले भने ‘प्रकृतिको विकास कसरी भयो ? समाजको विकास कसरी भयो ? मानिसहरूको चिन्तन÷चेतनाको विकास कसरी भयो? माक्र्सवादले सबभन्दा बढी अनुसन्धान गरेको, आविष्कार गरेको, खोज गरेको, साधना गरेको मेहनत गरेर पत्ता लगाएको कुरा त्यही नै हो ।’

यही कुरालाई कम्युनिष्टहरूले भौतिकवाद भनेर बुझ्ने उनले बताए । 

दाहाल तिनै नेता हुन जस्ले ०६६ माघ २९ गते सुनसरीमा पुगेर भैंसीपूजा गरेका थिए। माओवादी शान्तिपुर्ण राजनीतिमा आएपछि सोलुखुम्बुको जुबु घर भई सुनसरीको चतारामा बस्दै आएका कृष्णदास महाराज अर्थात सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको कुरामा लागेर दाहालले भैसी पुजा गरेका थिए। पछिल्लो समय गिरीमाथि दोहोरो नागरिकता, जडीबुटीको अवैध कारोबार र बलात्कारको आरोप लागिरहेको छ। 

दाहाल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्ना लागि क्षेत्र निर्धारणसमेत ज्योतिषीको सल्लाहअनुसार गर्ने तयारीमा छन्। यसअघि उनी निर्वाचन लडेको चितवन–३ मा स्थानीय तहको निर्वाचनमा चित्त वुझ्दो मत नआएपछि उनी हच्किएका छन् ।

त्यसैले उनले उम्मेदवारी दिने सम्भावित क्षेत्रको नाम दिएर ज्योतिषीको सल्लाह अनुसार क्षेत्र छनौट गर्ने तयारी गरेको उनी निकट स्रोतको दाबी छ। तर, उनले कुन ज्योतिषीलाई भेट्दैछन भन्ने खुलाईएको छैन।

पुष्पकमल दाहाल भैंसीपूजा

विशेष