पलको ‘ब्याडलक’: पेसीका दिन दोस्रो पटक पनि न्यायाधिश अनुपस्थित

बालिका बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) को पेसी फरी पनि सरेको छ। पेसी तोकिएकोमा न्यायाधीश नै अनुपस्थित भएपछि दोस्रोपटक उनको पेसी स्थगित भएको हो।
जिल्ला अदालत तनहुँमा आइतबार बिहान गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो। तर पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो।
गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि न्यायाधीश दलबहादुर केसी अनुपस्थित भएका कारण स्थगित भएको थियो। गोलाप्रथा गर्दा पेसी केसीको इजलासमा परेको र उनी बिदामा रहेकाले स्थगित गरी आईतबारका लागि तोकिएको थियो।
तनहुँ जिल्ला अदालतमा भएका दुई जना न्यायाधीशको नाम लेखेर गोलाप्रथा गर्दा बिदामा बसेका न्यायाधीशको नाम आए सुनुवाइ स्थगित गरिन्छ। एकै प्रकृतिको मुद्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ।
तर, बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। जिल्ला कारागार तनहुँमा रहेका शाहलाई जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो।
पल शाह