News

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीले तयारी 

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीले तयारी 

बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गर्न प्रहरीले अनुमती पाएकोछ।

आफु नेपाल फर्किने तयारीमा रहेको बताईरहेका लामिछाने एकाएक सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले भदौ २३ गते नै पक्राउ पुर्जी जारी गरेको छ।

तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। त्यसैले इन्टरपोलमार्फत पक्राउ उनलाई झिकाउने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सन्दीप अहिले कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन। इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीले जनाएको छ।

इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ। 

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए। 

सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको छ।

विशेष