News

सुदुरपश्चिममा वाढिपहिरोमा परी एक सातामै २९ जनाको ज्यान गयो

सुदुरपश्चिममा वाढिपहिरोमा परी एक सातामै २९ जनाको ज्यान गयो

सुदूरपश्चिममा बाढी पहिरोका कारण एक सातामै २९ जनाले ज्यान गएको छ भने ११ जना बेपत्ता छन्। सुदूरपश्चिमको पहाडी क्षेत्रका दार्चुला र अछाममा मात्रै बाढी पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन्।

भदौ २५ गते रातीको अविरल वर्षा र बाढीपहिरोका कारण अछामको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा २२ जनाको ज्यान गएको छ। ढकारी गाउँपालिकाका एक जना अझै बेपत्ता छन्। कमलबजार नगरपालिका– ६ का ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ बर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी र १२ वर्षीय सिरु कामको पहिरोमा पुरिएर मृत्यु भएको छ।

कमलबजार–८ का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाईको पहिरोमा परेर मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ बर्षीया मनिशा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीया कल्पना शाही र २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ढकारी गाउँपालिका– ६ का २ वर्षीय बालक नविन बुढाको पहिरोमा ज्यान गएको छ भने कैलालीको भजनी नगरपालिका– ८ का ५५ वर्षीय कालुराम चौधरी र धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया युवतीको बाढीमा बगेर मृत्यु भएको छ।

यसैगरी दार्चुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो क्षति भएको छ। यहाँ बाढीपहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्।

महाकाली नगरपालिका–२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका–२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका–३ डुङ्ग्रीकी मानमती कार्की, नौगाड–१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्नाको मृत्यु भएको हो। 

महाकाली–३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली–२ की मानमती साहु, महाकाली–१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहार गरी १० जना बेपत्ता छन्। 

बाढी बस्तीमा पस्दा डुबान हुँदा सयौँ परिवार विस्थापित भएका छन्। कैलालीको पूर्वी क्षेत्रमा झन्डै दुई हजार परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जोशीपुरमा ४ सय, कैलारीमा १ सय ८०, टीकापुरमा १ सय ७५, भजनीमा १ हजार ५०, जानकी गाउँपालिकामा ९५, लम्की चुहामा १ सय ५०, धनगढी उपमहानगरमा १५ परिवार गरि २ हजार ५५ घर डुबानमा परेको प्रारम्भिक अनुमान गरिएको छ।

टीकापुरमा ७० र जानकीमा ६५ परिवार र भजनी नगरपालिकामा ८ सय जना बिस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कञ्चनपुरको बनहरा र दोदा नदीको बाढी बस्ती पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन्। 

लालझाडी गाउँपालिकाको वल्मी, कन्ज, कसुवा, डुंगा र छोटी पर्सिया लगायतका बस्तीहरूमा डेढ सय घर परिवार डुबानका कारण विस्थापित भएका छन् भने कृष्णपुर नगरपालिका ५ को पवित्रा वस्ती शिविरमा मोहना नदी पस्दा ७० परिवार विस्थापित भएका छन । कृष्णपुर–४ मा मछेली नदीको बाढी बस्तीमा पस्दा ८० परिवार विस्थापित भएका छन्। 

विशेष