News

अदालतको आदेशले पनि रोकिएनन बालेन्द्र, आज पनि उत्खनन् जारी

अदालतको आदेशले पनि रोकिएनन बालेन्द्र, आज पनि उत्खनन् जारी

काठमाडौं महानगरले टुकुचा खोला खोज्ने अभियानलाई सोमबार पनि निरन्तरता दिएको छ। महानगरको डोजरसहितको टोलीले हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर टुकुचा उत्खनन् गरिरहेको हो।

महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ । त्यसका लागि सम्भावित क्षेत्र पहिचान गरी टुकुचा उत्खनन् गर्ने कार्य भईरहेको छ। महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक, सिद्धार्थ बैंक र हात्तीसार क्षेत्रमा डोजर चलाउँदा टुकुचा खोला भेटिएको थियो। 

उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरुङमाथि बनेका घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपनि महानगरले त्यसको वास्ता नगरी आफनो कामलाई अगाडि बढाइरहको छ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका  नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घर कानुनी रीत नपु¥याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

महानगरले टुकुचा खोला खुला गर्न डोजर अभियान सुरु गरेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले रिट दायर गरेका थिए । रिटमा बहसपछि उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले हिजो अल्पकालीन आदेश जारी गरेको हो । त्यसमा निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? भन्ने कुनै आधार, कारण र प्रमाण उल्लेख गरी लिखित जवाफ पेश गर्न विपक्षी महानगरपालिकालाई भनेको छ ।

साथै निवेदनपत्रमा उठाइएका विषयवस्तुका बारेमा विपक्षीलाई समेत छलफल गराइ अन्तरिम आदेश हुने वा नहुने विषयमा निर्णय गर्न उपयुक्त हुने देखिएको भन्दै अदालतले सो प्रयोजनका लागि असोज ५ गते पेशी तारेख तोकेको छ । सो अवधिसम्म निवेदकमध्ये काठमाडौं वडा नम्बर १ को कित्ता नम्बर ७ मा रहेको जे नेक्स इन्भेस्टमेन्ट प्रालिका नाममा रहेको जग्गा, कित्ता नम्बर ३०२८ को उत्तारमान लामाको नाममा रहेको जग्गा र कित्ता नम्बर २०२९ को प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका नाममा रहेका जग्गामा बनेका संरचना नहटाउन अदालतले आदेश दिएको हो ।

कित्ता नम्बर ७ मा २०६८ सालको जेठ २० मा घरजग्गा नै खरिद गरी भोगचलन गरिआएको देखिएको तथा कित्ता नम्बर ३०३८ र ३०३९ को जग्गा निवेदकहरुले २०५३ सालमा खरिद गरी महानगरपालिकाबाट २०५४ साल वैशाख ११ मा भवन निर्माण इजाजतपत्र प्राप्त गरी घर निर्माण गरेको र कित्ता नम्बर ३०३८ को जग्गामा बनेको घर निर्माण सम्पन्न भई प्रमाणपत्रसमेत लिइसकेको भन्ने देखिन आएको अदालतको आदेशमा उल्लेख छ ।

ती जग्गामा बनेका घर कानूनबमोजिम रित नपु¥याइ वा उचित क्षतिपूर्ति नदिइकन भत्काउने कार्य नगर्न नगराउनु भनी विपक्षीका नाममा अल्पकालीन आदेश जारी भएको थियो ।

महानगरपालिकाले भने अदालतले ३ वटा घरका लागि मात्रै सो आदेश दिएकाले अन्य संरचना भत्काउन बाधा नपर्ने जनाएको छ। बाँकी अतिक्रमण गरिएका जग्गाहरुमा भने महानगरले आज पनि आफ्नो काम जारी राख्ने भएको छ ।

अर्कोतर्फ महानगरले अहिले कसैको भवन भत्काउने, हटाउने वा क्षती पुर्याउने काम गरेको छैन। महानगरले टुकुचाको वैधानिक प्रमाणका लागि सम्भावित क्षेत्र पहिचान गर्न उत्खनन् कार्य मात्रै गरिरहेकाले अदालतको आदेशले काममा बाधा नपर्ने कतिपयले तर्क गरेका छन्।

महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक, सिद्धार्थ बैंक र हात्तीसार क्षेत्रमा डोजर चलाउँदा टुकुचा खोला भेटिएको थियो। महानगरले आज पनि त्यस्ता सम्भावित क्षेत्रको उत्खनन् गर्दैछ।

यो पनि 

टुकुचा खोला लक्ष्मी बैँक

विशेष