News

बालेन्द्र विरुद्ध किन अदालत गएन लक्ष्मी बैंक, यस्तो छ कारण (प्रमाणसहित)

बालेन्द्र विरुद्ध किन अदालत गएन लक्ष्मी बैंक, यस्तो छ कारण (प्रमाणसहित)

काठमाण्डौं महानगरपालिकाले टुकुचा खोलाको अतिक्रमण हटाउन निरन्तर उत्खनन् सुरु गरेपछि आत्तिएका कतिपयले काठमाण्डौं महानगरपालिकालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दर्ता गरे। 

प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार दर्ता गराएको रिटमा आईतवार सुनुवाई भयो। न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको जग्गामाथि बनेका संरचना नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अल्पकालिन अन्तरिम आदेश समेत दिएको छ।

काठमाडौं –१ कित्ता नम्बर ७ मा रहेको जे नेक्स इन्भेस्टमेन्ट प्रालिका नाममा रहेको ९ आना जग्गा ०६८ जेठ २० मा घरजग्गा नै खरिद गरी भोगचलन गरिआएको र कित्ता नम्बर ३०३८ र ३०३९ को १० आना बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाटै भवन निर्माणको इजाजत लिएको देखिएको भन्दै अदालतले ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपु-याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू–नगराउनू’ भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ।

अदालतको आदेशपछि महानगरले तोकिएको जग्गा र त्यसमा भएका संरचनाका विषयमा थप कदम चालेको छैन। जग्गा धनीको रिट निवेदन तथा अदालतको आदेश हेर्दा उनीहरुले जग्गा र त्यसमाथि बनेका संरचनामा दावी गर्ने आधारहरु देखिएका छन्। उनीहरुको दावी अनुसार महानगरले चित्तवुझ्दो आधार वा क्षतिपुर्ति नदिई निर्मित संरचना भत्काउन समस्या देखिएको छ।

तर, अदालतले यसरी कित्ता नम्वर नै तोकेर उक्त जग्गामा वनाईएका संरचना नभत्काउन आदेश दिदा पनि अन्य ब्यक्ति/संस्थाले आफनो जग्गा र संरचना जोगाउन कानुनी बाटो रोजेका छैनन्। खासगरी लक्ष्मी बैंक, सिद्धार्थ बैंकलगायतका निकाय यो विषयमा चुपचाप छन्। यस विषयमा जानकारी लिन सम्पर्क गर्न खोज्दा पनि उनीहरु सम्पर्कमा आउन चाहेका छैनन्। 

सहरी विकास मन्त्रालयले तयार गरेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनले टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरू बनाइएको खुलाएको थियो । सोही प्रतिवेदनका आधारमा महानगरले टुकुचा उत्खनन गरिरहेको छ । तर यति धेरै जग्गा ओगटेका जग्गाधनीले कानुनी बाटो किन समाएनन् ? भन्ने गहन प्रश्न उब्जिएको छ।

लक्ष्मी बैंकले टुकुचा खोला छोपेर नक्सा पास नै नगरी केन्द्रीय कार्यालय भवन निर्माण गरेको आरोप छ। खोला छोपेर भवन बनाउने क्रममा नै उक्त अवैध संरचना भत्काउन काठमाण्डौं महानगरपालिकाले पत्राचार गरेपनि बैंकले त्यसको वेवास्ता गरेको महानगरका जानकार कर्मचारीहरु बताउँछन्। महानगरपालिकाले ०६५ फागुन ८ गते पहिलो पटक पत्राचार गरेर काठमाण्डौ महानगरपालिका १ हात्तिसार स्थित कित्ता नं. १७१० र १७११ मा निर्माणाधिन बैंकको भवन रोक्का राख्न भनेको थियो। लक्ष्मी बैंकलगायत चार जना (संस्था) का नाममा जारी भएको उक्त पत्रको वेवास्ता भएपछि ०६५ फागुन २९ गते पुन अर्को पत्र पठाएर निर्माण कार्य रोक्न भनिएको छ।

शाखा प्रमुख रामवहादुर थापाले हस्ताक्षर गरेको उक्त पत्रलाई समेत वेवास्ता गरिएको देखिएकाले लक्ष्मी बैंकसहितका भवन नक्सा पास नै नगरी अवैधानिक रुपमा निर्माण भएको देखिएको छ। सोही कारण उनीहरु कानुनी रुपमा अगाडि बढ्न नसकेको महानगरपालिकाकै कतिपय कर्मचारीहरु बताउँछन्।

यो पनि 

टुकुचा खोला लक्ष्मी बैँक

विशेष