News अपराध सुरक्षा

भारतको सितामढीमा नक्कली नेपाली पैसा छाप्ने छापाखाना, प्रहरीको वर्दीमा यसरी हुन्छ कारोबार

भारतको सितामढीमा नक्कली नेपाली पैसा छाप्ने छापाखाना, प्रहरीको वर्दीमा यसरी हुन्छ कारोबार

भारतको बिहार राज्य स्थित सीतामढ़ीमा नेपाली नक्कली नोट छाप्ने छापाखानामा छापा मारेर प्रहरीले ८ जनाको गिरोहलाई पक्राउ गरेको छ। मेजरगंज थाना इलाकाको खैरवा गाउँमा रहेको छापाखानाबाट पक्राउ पर्नेमा एक जोडी नेपाली दम्पति समेत छन्।

भारतीय प्रहरीका एसपी हरकिशोर रायका अनुसार रीगा एवं बैरगनिया थाना क्षेत्रमा केही ब्यक्तिले जाली नोटको कारोबार गर्ने गरेको सुचना आएको थियो। यसैगरी ‘केही ब्यक्तिले नोट डवल गरेर दिने गरेको’ सूचना समेत आएपछि त्यसैका आधारमा अनुशन्धान गर्दा उनीहरु पक्राउ परेका हुन। उनीहरुले ‘नोट डवल गर्दिन्छु’ भन्दै सक्कली पैसा लिएर नक्कली रुपैयाँ दिने गरेको खुलेको छ। यस्तो सूचना पाएपछि प्रहरीले स्पेशल टीम बनाएर मेजरगंजका स्थानीय सुशील कुमार तिवारीको घरमा छापा मारेको थियो।

प्रहरीलाई देखेपछि केही ब्यक्ति भाग्न सफल भएपनि घर मालिक तिवारी, स्थानीय लड्डु मदारी, मेजरगंज गाउँका आफताब आलम तथा नेपालका सीमादेवी र लालबाबू चौधरीलाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन, ५ थान मोबाइल, ५ सयका ७३ थान भारतीय नोट, १ हजारका १७ थान नेपाली नोट, ८ बण्डल १ हजार नेपाली नोटको साइजको सादा कागज, एक थान हिटर तथा स्टीकर बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, रीगा थाना क्षेत्रको पिपरा निवासी राजेन्द्र महतोको घरमा छापा मारी २ थान मोबाइल, २ लाख नेपाली नक्कली नोट, नोट छाप्ने कागज र प्रहरीको वर्दी वरामद गरेको छ। राजेन्द्र र उनका छोरा मुन्नाकुमार पक्राउ परेका छन्। राजेन्द्रका अनुसार नक्कली नोटका मुख्य कारोवारी बैरगनियाको बेगाहीका बबलू झा हुन। झाकै निर्देशन अनुसार आफुहरुले प्रहरीको वर्दी लगाएर नक्कली नोटको कारोबार गर्ने गरेको राजेन्द्रले बयान दिएका छन्।

उनको वयानपछि बब्लु समेत पक्राउ परेका छन्। उनको साथबाट २ लाख नेपाली नक्कली नोट बरामद भएको छ। प्रहरीले पक्राउ परेका सवैलाई शुक्रवार न्यायिक हिरासतमा पठाएको डिएसपी सुबोधकुमारले बताए।

विशेष