News

बझाङमा थपिए दुई मतदान स्थल, तीनवटाको ठाउँ सारियो

बझाङमा थपिए दुई मतदान स्थल, तीनवटाको ठाउँ सारियो

निर्वाचन आयोगले बझाङमा दुई मतदान स्थल थप गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा मतदान स्थल थप भएका हुन् । 

छबिसपाथिभेरा गाउँपालिका ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा नयाँ मतदान केन्द्र थप गरिएको छ । यस्तै, केदारस्युँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर शिक्षोदय मावि बागथलामा मतदान स्थल थप गरिएको हो । 

छविसपाथिभेरा गाउँपालिका वडानं ५ को शान्ति माविलाई विभाजन गरेर खतेडाको चन्द्रोदय माविमा मतदान थप गरिएको गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले जानकारी दिए । चन्द्रोदय माविमा कायम गरिएको मतदान केन्द्रमा ४६६ जनामतदाता छन् । इरे डुङ्गा, पण्डित गाउँ, गिरिखेल्ला, गैरी गाउँ, खतेडा र वरिपरिका मतदाताले अब चन्द्रोदय माविको केन्द्रमा मतदान गर्न पाउँने भएका छन् । 

गाउँनजिकै मतदान केन्द्र कायम भपएपछि स्थानीयहरु खुशी भएका छन् । ‘मतदान गर्न डेढ घण्टाको बाटो हिडेर शान्ति मावि जानु पथ्र्याे । अशक्त, बृद्ध, गर्भवतिले मतदान गर्न निकै सास्ती खेप्नु परेको थियो । कतिपय मान्छेहरु टाढा भएकाले जानै सक्दैनथे । अब, गाउँ नजिकै मतदान केन्द्र स्थापना भएको छ । धेरै सजिलो हुने भयो ।’ स्थानीय किशोर खुशी व्यक्त गरे । 

मतदान केन्द्र टाढा पर्ने भएकोले इरे डुङ्गा, पण्डित गाउँ, गिरिखेल्ला, गैरी गाउँ, खतेडा र वरिपरिका मतदाताले प्रत्येक चुनावमा सास्ती ब्यहोर्नु परेको गाउँपालिका अध्यक्ष चलाउने बताउँछन् । मतदाताको माग अनुसार निर्वाचन स्थल थप गर्न पहल गरिएको चलाउनेको भनाइ छ । ‘वडानं ५ का केहि गाउँमा मतदाताले लामो बाटो हिँडेर मतदान गर्न आउनु पथ्र्याे । विभिन्न राजनितिक कारणले विगतमा मदतान स्थल शान्ति मावि कायम गरिएको देखिन्छ । मतदातालाई सहज हुने गरेर चन्द्रोदय माविमा मतदान केन्द्र थप गरेका छौँ ।’ अध्यक्ष चलाउनेले भने ।


बझाङमा दुई मतदान स्थल थपिएसँगै १३५ वटा मतदान स्थल पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल गौतमले जानकारी दिए । 
 
 
त्यस्तै, जिल्लामा तीन वटा मतदान केन्द्र सारिएका छन् । साइपाल गाउँपालिकाको धुली आधारभूत विद्यालयको मतदान स्थललाई सारेर सामुदायिक भवन यराङ्कुरीमा लगिएको छ । थलारा गाउँपालिका ( ६ स्थित त्रिभुवन माविमा रहेको मतदान स्थललाई परिवर्तन गरेर वडा नम्बर ६ को वडा कार्यालय पिखेतमा मतदान स्थल कायम गरिएको छ । 

 
त्यस्तै, थलारा गाउँपालिका ८ को शैलेश्वरी आधारभूत विद्यालयको मतदान स्थललाई सोही वडाको कार्यालयमा कायम गरिएको प्रमुख गौतमले बताए । बाढी पहिरोको कारण पूर्वाधार क्षति भएका, बहुसङ्ख्यक जनसङ्ख्याको बसोबास भएको तथा टाढा दुरी भएका कारण मतदान स्थल हेरफेर गरिएको प्रमुख गौतमले बताए । 

बझाङमा प्रतिनिधि सभाका लागि एउटा निर्वाचन क्षेत्र छ भने प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । १२ वटा स्थानीय तह रहेको बझाङमा १ लाख २२ हजार ३७६ मतदाता रहेका छन् ।

विशेष